नेपाल पत्रकार महासंघ भक्तपुरले मनायो आफ्नो २८ औं स्थापना दिवस
भक्तपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले आफ्नो २८ औं स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसको प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले उद्घाटन गरेका हुन् । उद्घाटन पछि बोल्दै उनले पत्रकार महासंघको हालै सम्पन्न निर्वाचनमा हार्नेहरु दुःखी र जित्नेहरु खुशी हुनु पर्ने अवस्था नरहेको बताउँदै पत्रकार महासंघ सबैको साझा संस्था भएको बताए ।
प्रतिनिधिसभा सदस्य थापाले केही वर्ष अघि सिलान्यास भएको पत्रकार महासंघको भवन अब सबै मिलेर बनाउनु पर्नेमा जोड दिए । महासंघको भवन निर्माण गर्न ५० हजार रुपैयाँ आफ्नो तर्फबाट दिने प्रतिबद्धता गर्दै उनले तत्काल कार्य अघि बढाउन नवनिर्वाचित कार्यसमितिलाई आग्रह गरे ।
कार्यक्रममा बरिष्ठ पत्रकार कविर राणा, नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश अध्यक्ष टेनिस रोका, काठमाडौं शाखा अध्यक्ष शोभा अर्याल, ललितपुर शाखा अध्यक्ष रामहरि कार्की, पत्रकार जगत नेपाललगायतले श्रमजीवि पत्रकारहरुको हकहितमा काम गर्न नवनिर्वाचित कार्यसमितिलाई आग्रह गरे ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका सचिव दिपक ढुंगानाले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष हेमराज ढकालले स्वागत मन्तव्य दिएका थिए भने अध्यक्ष सुन्दर सिल्पकारले कार्यक्रमको अध्यक्षता गरेका थिए ।
विगतमा समयमा स्थापना दिवसका दिन शाखाले पत्रकारलाई विभिन्न पुरस्कार प्रदान गर्ने गरेको भएपनि यसपटक नयाँ नेतृत्व पदस्थापन भएको एक साता मात्रै भएको कारण पछि छुट्टै कार्यक्रम गरी वितरण गरिने अध्यक्ष सिल्पकारले जानकारी दिए ।