फिल्म ‘दुःखी आत्मा’ को टिजर सार्वजनिक
काठमाडौं । दयाहाङ राई अभिनीत फिल्म ‘दुःखी आत्मा’ को टिजर सार्वजनिक गरिएको छ। मंगलबार युट्युबमा सार्वजनिक ३ मिनेट १५ सेकेन्डको टिजरले फिल्मको कथावस्तुबारे संकेत गर्छ।निर्माण टिमले फिल्म एडल्ट (वयस्क)हरूका लागि मात्र भन्दै टिजर सार्वजनिक गरेको छ।
टिजरमा शीर्ष कलाकार अभिनेता दयाहाङ र अभिनेत्री आँचल शर्मा हाबी छन्। टिजरमा समावेश दृश्य र संवादले फिल्म एडल्ट विषयवस्तुमा बनेको जनाउँछ। अनुपविक्रम शाही, बुद्धि तामाङ, दीया मास्के लगायतका कलाकारहरूलाई समेत टिजरमा प्रस्तुत गरिएको छ।
‘दुःखी आत्मा’ दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बनेको फिल्म हो। यसमा रेअर राई, पुष्कर गुरूङ, कविता आले, लोकेन्द्र लेखक, अशान्त शर्मा लगायत कलाकारहरूको पनि अभिनय छ। क्लक वर्क क्रिएसनको प्रस्तुति रहेको फिल्मको निर्माता हिमाल कडरिया हुन्।
सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा कवि श्रवण मुकारूङका विभिन्न कविता पनि समेटिएको छ। आलोक शुक्लाको छायांकन रहेको फिल्म निमेष श्रेष्ठले सम्पादन गरेका छन्। भ्यालेन्टाइन डेको अवसर पारेर फागुन २ गतेदेखि फिल्म प्रदर्शनमा आउने तयारीमा छ।