अत्यधिक चिसो भएसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण बढ्यो

भक्तपुर न्यूज

२२ पुष २०८१ १४:५७

अत्यधिक चिसो भएसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण बढ्यो

काठमाडौं । अत्यधिक चिसो भएसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण पनि बढेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई)का अनुसार सोमबार काठमाडौं उपत्यकाको वायु प्रदूषण दुई सय पाँच एक्यूआई छ ।

वातावरणविद् भुषण तुलाधारका अनुसार गर्मीयामको तुलनामा चिसो मौसममा वायु प्रदूषणको सम्भावना बढी हुन्छ । त्यसबाहेक चिसोमा फोहोर, टायर तथा दाउरा जलाउने चलनले पनि प्रदूषण बढाउन सहयोग गर्ने उनको भनाइ छ ।

एक्यूआईका अनुसार सोमबार काठमाडौं उपत्यका विश्वको पाँचौ प्रदूषित शहरमा परेको छ । उक्त सूचीको शीर्ष स्थानमा पाकिस्तानको लाहोर छ । लाहोरको एकयुआई तीन सय ४१ एक्यूआई छ । साथै, दोस्रो स्थानमा रहेको भारतको कोलकाताको एक्यूआई दुई सय ४८, तेस्रो स्थानमा मङ्गोलियाको उलानबाटरको एक्यूआई दुई सय ३८ छ । चौथो स्थानमा रहेको प्रदूषित शहर भारतको नयाँ दिल्लीको एक्यूआई दुई सय २७ एक्यूआई छ ।

विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीका अनुसार शून्यदेखि ५० सम्मको एक्यूआईलाई राम्रो मानेर हरियो संकेत दिइन्छ । साथै, ५१ देखि एक सयसम्मको एक्यूआईले होसियार रहन संकेत गर्छ । एक सय एकदेखि एक सय ५० सम्मको एक्यूआई हुँदा श्वासप्रश्वासमा समस्या हुने र मुटु रोगीका लागि खतरा मानिन्छ । उनका अनुसार एक सय ५१ देखि दुई सयसम्मको एक्यूआईलाई अस्वस्थ र त्यसभन्दा माथि वायु प्रदूषण भएमा अत्यधिक अस्वस्थ भएको मानिन्छ ।

काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्यूआईको मान तीन सयभन्दा बढी भएको अवस्थालाई विपद्को रूपमा लिने उल्लेख गरेको छ । उक्त विपद् रोक्नका लागि कार्ययोजनामा फोहोर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रुमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीहरुलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्न कार्ययोजनामा उल्लेख गरिएको छ ।

राष्ट्रिय वातावरण नीति, २०७६ अनुसार प्रदूषण न्यूनीकरणका लागि जल, वायु, माटो, ध्वनि, विद्युत्–चुम्बकीय तरङ्ग, रेडियोधर्मी विकिरण, जोखिमपूर्ण रासायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गरिने सरकारी रणनीति छ ।

प्रमुख शहर, औद्योगिक प्रतिष्ठानलगायत प्रदूषणको जोखिममा रहेका क्षेत्रमा गुणस्तर मापन केन्द्र स्थापना र सञ्चालन गर्दै वायु, जल, ध्वनि गुणस्तरको नक्शांकन गरिने रणनीतिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय