रवि लामिछानेका पक्षबाट सोविता गौतमसहितका वकिलले आज बहस गर्दै

भक्तपुर न्यूज

२२ पुष २०८१ ११:२८

रवि लामिछानेका पक्षबाट सोविता गौतमसहितका वकिलले आज बहस गर्दै

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा सोमबार रास्वपा सभापति रवि लामिछानेका वकिलले बहस गर्ने भएका छन् । थुनछेक बहस अन्तर्गत, सात जना प्रतिवादीविरुद्ध भइरहेको सुनुवाइमा आइतबारसम्म गोरखा मिडिया नेटवर्कका पूर्वसञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशी र लीला पछाईको पक्षबाट बहस गरिएको थियो ।

न्यायाधीश नितिज राईको इजलासमा जारी बहसमा जोशीकातर्फबाट ६ जना कानून व्यवसायीले वकालतनामा लेखाएका छन् । तीमध्ये वरिष्ठ अधिवक्ता शम्भु थापाको बहस सकिएको छ भने अन्य पाँच जनाको बहस बाँकी छ । लामिछानेका तर्फबाट बहस गर्ने क्रम जोशी पक्षको बहस सकिएपछि मात्रै सुरु हुने श्रेस्तेदार राजन खनालले जानकारी दिए ।

लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, रमण श्रेष्ठ र रास्वपा नेतृसमेत रहेकी अधिवक्ता सोविता गौतम लगायतले बहस गर्नेछन् । लामिछानेपछि रामबहादुर खनाल, मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङका वकिलहरूले बहस गर्ने कार्यक्रम छ ।

प्रतिवादी पक्षका सबै वकिलहरूको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् । त्यसपछि न्यायाधीशले प्रतिवादीहरूलाई साधारण तारेख, धरौटी वा पुर्पक्षका लागि थुनामा पठाउने सम्बन्धी आदेश दिनेछन् । वकिलहरूको संख्या धेरै भएकोले आदेश आउन अझै केही दिन लाग्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *