ताथली धिमय् खलले जित्यो बागमती प्रदेश स्तरीय धिमय् बाजाको उपाधि
भक्तपुर । प्रथम बागमती प्रदेशस्तरीय धिमय् बाजा प्रतियोगिताको उपाधि ताथली धिमे खलले जितेको छ ।
‘नगरकोट भ्रमण वर्ष २०८२’ लाई लक्षित गरेर चाँगुनारायण नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा ५४ वटा समूहलाई पछाडि पार्दै ताथली धिमे खलले उपाधि जितेको हो ।
प्रतियोगितामा ताथलीको बैकाभु गणेश सांस्कृतिक खल, भक्तपुरको निओ फ्युजन बाजा समूह र बनेपा काभ्रेको देउला बाँसुरी बाजा खलले क्रमशः दोस्रो, तेस्रो र चाँैथो भएका छन् । यस्तै, बनेपाको वान्ख्यो डाफा भजन खल पाँचौं, लायकु धिमय् खल पनौती छैंठौं, मध्यपुर थिमीको सिवा सायमी खल सातौं, तलेजु बाजा खल लुभुले आठौं, काठमाडौंको बालकुमारी धिमय् खल नवौं र ताथलीको सौडोल सांस्कृतिक बाजा खल दसौं भएका थिए ।
प्रतियागितामा प्रथम हुने समूहलाई नगद ५० हजार रुपैयाँसहित शिल्ड, प्रमाणपत्र, एक थान धिमय्, दुई थान भूछ्या, दुई थान सिछ्या, दोस्रो हुनेलाई नगद २५ हजार रुपैयाँसहित शिल्ड, प्रमाणपत्र, एक थान धिमय्, एक थान भूछ्या, एक थान सिछ्या, तेस्रो हुनेलाई नगद १० हजार रुपैयाँसहित शिल्ड, प्रमाणपत्र, एक थान तथा चौथौलाई नगद ५ हजार रुपैयाँसहित शिल्ड, प्रमाणपत्र, एक थान धिमय् प्रदान गरिएको छ । यस्तै, पाँचौं देखि दसौं स्थानसम्म प्राप्त गर्ने प्रत्येक समूहलाई एक एक थान भुछ्या प्रदान गरिएको छ भने सहभागी सम्पूर्ण समूहलाई मायाको चिनो प्रदान गरिएको छ ।
विजयी हुने समूहहरुलाई प्रतिनिधिसभा सदस्य दुर्लभ थापा, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, चाँगुनारायण नगरपालिका–२ का वडाध्यक्ष सोम प्रधान, ५ नं. का वडाध्यक्ष जयन्द्र खड्का, ८ नं. का वडाध्यक्ष जनक खत्री, ९ नं. का वडा अध्यक्ष एवम् कार्यक्रम संयोजक गणेश त्यात लगायतले पुरस्कृत गरे ।
