ताथलीमा प्रथम प्रदेशस्तरीय धिमय् बाजा प्रतियोगिता सुरु
भक्तपुर । ‘नगरकोट भ्रमण वर्ष २०८२’ लाई लक्षित गर्दै ताथलीको ताथली फाँटमा प्रथम बागमती प्रदेशस्तरीय धिमय् बाजा प्रतियोगिता सुरु भएको छ ।
आज चाँगुनारायण नगरपालिकाको आयोजनामा भएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य प्रेम सुवालले उद्घाटन गरे ।
उद्घाटनपछि बोल्दे प्रतिनिधिसभा सदस्य सुवालले यस्ता सांस्कृतिक प्रतियोगिताहरुले यहाँका कला र संस्कृति बचाइराख्न मद्दत पुर्याउनुका साथै पर्यटन उद्योगको विकास पनि हुँदै जाने बताए । उनले मूर्त तथा अमूर्त कला, संस्कृति तथा बाजाको संरक्षण एवं विकासमा नयाँ पुस्तालाई सहभागी गराउन यस्ता प्रतियोगिता गर्दै आउनु पर्नेमा जोड दिए ।
नगरकोट भ्रमण वर्ष २०८२ को पूर्वसन्ध्यामा प्रदेशस्तरीय धिमय् बाजा प्रतियोगिता सञ्चालन गरिएको नगरपालिकाका प्रमुख जीवन खत्रीले जानकारी दिए । उनले नगरपालिकाले घोषणा गरेको नगरकोट भ्रमण वर्ष २०८२ सफल पार्न वर्षभरी नगरभित्र पर्यटक केन्द्रित विभिन्न गतिविधि सञ्चालन गरिने जानकारी दिए ।
प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुरका साथै काभ्रे, सिन्धुपाल्चोक र रामेछापका गरी कूल ५५ समूहको सहभागिता छ ।
प्रतियागितामा प्रथम हुनेलाई नगद ५० हजार रुपैयाँसहित शिल्ड, प्रमाणपत्र, एक थान धिमय्, दुई थान भूछ्या, दुई थान सिछ्या, दोस्रो हुनेलाई नगद २५ हजार रुपैयाँसहित शिल्ड, प्रमाणपत्र, एक थान धिमय्, एक थान भूछ्या, एक थान सिछ्या, तेस्रो हुनेलाई नगद १० हजार रुपैयाँसहित शिल्ड, प्रमाणपत्र, एक थान,तथा सान्वनालाई नगद ५ हजार रुपैयाँसहित शिल्ड, प्रमाणपत्र, एक थान धिमय् प्रदान गरिने छ भने उत्कृष्ट प्रस्तुती गर्ने समूहलाई एक थान धिमय्, दशौं स्थानसम्म प्राप्त गर्ने प्रत्येक समूहलाई एक/एक थान भुछ्या र सहभागी सम्पूर्ण समूहलाई मायाको चिनो प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा नेवारी खाजा तथा खाना स्टल विशेष आर्कषकको रुपमा रहेको छ ।