आर्थिक विकासका लागि श्रमप्रतिको सम्मान आवश्यक छ : राष्ट्रपति पौडेल

भक्तपुर न्यूज

१६ पुष २०८१ १२:३१

आर्थिक विकासका लागि श्रमप्रतिको सम्मान आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु आजको आवश्कता भएको बताएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्धारा काठमाडौमा मंगलबार आयोजित छैठौं श्रम संसदलाई सम्बोधन गर्दै उहाँले सो धारणा व्यक्त गरेको हो ।

मुलुकको विकास भनेको केवल आर्थिक र भौतिक मात्र नभइ यससँग मानवीय विषय पनि उत्तिकै जोडिएको उल्लेख गर्दै उनले प्राकृतिक स्रोत साधन र पूँजीको परिचालन श्रमजीवि वर्गले गर्ने बताए । आफ्नो राजनीतिक जीवनमा देशको सामाजिक र आर्थिक रुपान्तरणका लागि कृषक, श्रमिक तथा मजदुरको सम्मानको विषयलाई आफूले सदैव प्राथमिकता दिएको उनले स्मरण गरेका छन् ।

यसैवर्ष जुनमा जेनेभामा सम्पन्न ग्लोबल कोलीसन फर सोसीयल जस्टीस सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा विश्वभरका श्रमिकहरूलाई सम्वोधन गर्दा पनि आफूले सामाजिक न्यायका लागि सबैबीच कसिलो गठबन्धन आवश्यक रहेकोमा जोड दिएको विषय पनि उनले स्मरण गरे ।

नेपालका श्रमजीवीहरूले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गरेको योगदान सराहनीय रहेको र सोही योगदानका कारण संविधानमा उचित श्रम अभ्यास, संगठन गर्न पाउने स्वतन्त्रता, सामूहिक सौदावाजी र योगदानमा आधारित सामाजिक सुरक्षाजस्ता विषय मौलिक हककारुपमा रहन पुगेको उनले उल्लेख गरे ।

राष्ट्रपति पौडेलले अहिले भौतिक विकासका रुपमा भएको प्रकृतिको दोहन र मानवीयताप्रतिको बेवास्ताले विश्वमा दिनानुदिन जलवायु परिवर्तनको जोखिम बढेको पनि बताए । उनले अजरबैजानको बाकुमा सम्पन्न भएको कोप २९ मा आफूले विश्वका औद्योगिक तथा विकसित मुलुकले गरेको उच्चतम कार्वन उत्सर्जनको मार हाम्राजस्ता देशहरू जस्को कार्वन उत्सर्जनमा कुनै भूमिका छैन तर उच्च जोखिम बेहोर्न परेको विषयलाई प्राथमिकताका साथ उठाएको पनि बताए ।

श्रमिकहरूको जीवनस्तर माथि उठाउने र कार्यस्थललाई सुरक्षित र मर्यादित बनाउने जेटियुसीसीको उद्देश्यको उनले सराहना गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *