तनहुँमा अब नागरिकताको सिफारिस अनलाइनबाटै लिन सकिने

भक्तपुर न्यूज

९ पुष २०८१ १३:४७

तनहुँमा अब नागरिकताको सिफारिस अनलाइनबाटै लिन सकिने

काठमाडौं । तनहुँमा अब नागरिकताको सिफारिस अनलाइनबाटै लिन सकिने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले स्थानीय तहसँगको समन्वयमा अनलाइन सिफारिस प्रणाली लागू गर्न लागेको हो ।

अनलाइन सिफारिस सेवा सञ्चालन गर्न १० मध्ये आठ स्थानीय तहमा अभिमुखीकरण तालिम सम्पन्न भइसकेको र भानु नगरपालिका र बन्दीपुर गाउँपालिकामा मंगलबार तालिम प्रदान गरिने सहायक प्रमुख जिल्ला अधिकारी जीत बहादुर भण्डारीले बताए ।

उनका अनुसार केही पालिकाहरूले अनलाइन सिफारिस प्रक्रिया सुरु गरिसकेका छन् । यो प्रणालीले नेपाली नागरिकताको प्रमाणपत्र वितरणलाई छिटो, छरितो, त्रुटिरहित र प्रविधिमैत्री बनाउने उद्देश्य राखेको छ ।

उनका अनुसार ऐनमा अनलाइन सेवा अनिवार्य नगरिएकाले म्यानुअल सिफारिस प्रक्रिया पनि जारी रहनेछ । सेवाग्राहीले नागरिकता सिफारिसका लागि आवश्यक कागजातसहित वडा कार्यालयमा जानुपर्नेछ । वडा कार्यालयले जिल्ला प्रशासन कार्यालयको अनलाइन प्रणालीमा नागरिकता अनुसूची फाराम भरेर अपलोड गर्नेछ ।

विद्युतीय प्रणालीले दस्तावेज व्यवस्थापनलाई सहज बनाउनुका साथै प्रणालीको एकीकरण र सेवाको प्रभावकारितामा सुधार ल्याउने विश्वास गरिएको छ । योसँगै नागरिकताको अनलाइन सिफारिस प्रक्रिया लागू गर्ने तनहुँ २०औं जिल्ला बन्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय