४२ औं आइजिपि रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरू
काठमाडौं । ४२ औं आइजिपि रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरू भएको छ । नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा ४२ औं आइजिपि रनिङ शिल्ड फुटबल प्रतियोगिता आजबाट सुरू भएको हो ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले रेफ्रीलाई फुटबल हस्तान्तरण गरी उक्त प्रतियोगिताको उद्घाटन गरे ।
प्रहरी अतिरिक्त महानिरीक्षक गिरीले नेपाल प्रहरीको खेलकुद क्षेत्रलाई गतिशील एवम् सशक्त बनाउन विभिन्न आन्तरिक प्रतियोगिताहरू संचालन गर्दै आइरहेको उल्लेख गर्दै आगामी दिनमा खेलकुद प्रतियोगिताहरूलाई अझै प्रभावकारी बनाउन तथा नयाँ प्रतियोगिताहरू संचालन सहितको योजना तयार गर्ने प्रयास भइरहेको बताए । साथै प्रतियोगितामा सहभागी टिमहरूलाई खेल अनुशासन कायम राखि आफ्नो कौशल प्रदर्शन गर्न समेत उनले आग्रह गरे ।
पुस १६ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको साथै सातवटै प्रदेश प्रहरी कार्यालयका टिमको सहभागिता रहेको छ ।