जनप्रतिनिधि पाउँदा स्थानीय खुशी
काठमाडौ ५ असोज । प्रदेश २ मा भएको तेस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । बिहीबार विहानसम्म घोषित परिणाम अनुसार धनुषाको एक नगरपालिकामा राजपा र सिरहाको एक नगरपालिकामा माओवादी केन्द्रले मेयर र उपमेयर दुवै जितेका छन् ।
जनप्रतिनिधि पाएका स्थानीय तहका बासिन्दा हर्षित भएका छन् । उनीहरूले विजयी प्रतिनिधिलाई उल्लासमय तरिकाले स्वागत गरेका छन् । धनुषाको हंसपुर नगरपालिकामा राजपाका रामज्ञान मण्डल मेयर निर्वाचित भएका हुन् । उपमेयरमा पनि राजपाकै रेणुदेवी झा विजयी भएकी छन् । मेयरमा मण्डलले ३ हजार ३ सय २० र उपमेयरमा झाले ३ हजार २ सय ७६ मत पाए । मण्डलका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रदिपकुमार यादवले ३ हजार २ सय २९ र उपमेयर झाकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकै रामकुमारी कामतले ३ हजार २७ मत ल्याए ।
सिरहाको कर्जन्हा नगरपालिकाको मेयरमा माओवादी केन्द्रका गंगा पासमानले निकटतम प्रतिद्वन्द्वी एमालेका रामदयाल महतोलाई १ हजार १ सय ७९ मतले पराजित गरे । पासमानले ४ हजार ३ सय ९ मत पाए भने महतोले ३ हजार १ सय ३० मत ल्याए । उपमेयरमा माओवादी केन्द्रकै ज्ञानकुमारी श्रेष्ठले ४ हजार ३ सय १३ मत ल्याएर विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी अन्जुकुमारी राईले २ हजार ९ सय ४५ मत प्राप्त गरिन् ।
जनकपुर उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिकासहित धनुषाका कुल १८ स्थानीय तहमध्ये १७ तहको गणना जारी छ । उपमहानगर–३ को वडाअध्यक्षमा राजपाका दीपेन्द्र साह विजयी भएका छन् । बुधबार साँझसम्मको मतगणनामा कांग्रेस ५ स्थानमा, संघीय समाजवादी फोरम र एमाले ४र४ तहमा अग्रस्थानमा छन् ।
सप्तरीका १८ मध्ये १७ स्थानीय तहको मतगणना जारी छ । ६ स्थानमा कांग्रेस, ५ स्थानमा संघीय समाजवादी फोरम, ३ स्थानमा एमाले, २ स्थानमा राजपा र १ ठाउँमा फोरम लोकतान्त्रिक अगाडि छन् ।
महोत्तरीका १५ स्थानीय तहमध्ये ५ स्थानमा कांग्रेस, ४ ठाउँमा राजपा, २र२ ठाउँमा एमाले, माओवादी केन्द्र र संघीय समाजवादी फोरम अगाडि छन् । सिरहाका १७ स्थानीय तहमध्ये माओवादीले एक स्थानमा जित्नुका साथै ४ स्थानमा अग्रता लिएको छ । संघीय समाजवादी फोरम ५, कांग्रेस र एमाले ३र३ र राजपा १ ठाउँमा अगाडि छन् ।