डाक्टरले क्षतिपूर्ति दिनुपर्ने कानुन बन्दै, संघद्वारा विरोध

भक्तपुर न्यूज

३ असोज २०७४ ४:२१

डाक्टरले क्षतिपूर्ति दिनुपर्ने कानुन बन्दै, संघद्वारा विरोध

काठमाडौं ३ असोज । पछिल्लो समय चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्युका घटना बढ्न थालेपछि त्यसलाई रोक्न सरकारले कडा कानुन निर्माण गर्ने तयारी गरेको छ । बिरामीको उपचारका क्रममा चिकित्सकको लापरबाही तथा त्रुटि भएमा बिरामी तथा आफन्तलाई क्षतिपूर्ति दिने गरी कानुन निर्माण गर्नेबारे मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

बिरामीको उपचारका क्रममा हुने लापरबाही, त्रुटि तथा गल्तीलाई रोक्नका लागि यस्तो खालको कानुन निर्माणको तयारी भएको जनाएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कुनै पनि बिरामीको उपचारका क्रममा चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएमा अथवा कुनै गम्भीर खालको खतरा आएमा उपचार गर्ने चिकित्सकबाट नै बिरामी तथा तथा उसका आफन्तलाई क्षतिपूर्ति भराउने कानुन बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।

विशेषगरी निजी अस्पतालहरूमा पछिल्लो समय चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु हुने घटना बढ्दै गएपछि यस्ता कार्यलाई रोक्न कडा कानुन बनाउन निर्देशन दिइएको मन्त्रिपरिषद्को बैठकपछि सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सञ्चारकर्मीलाई जानकारी दिए । उपचारका क्रममा बिरामी अंगभंग हुने गुनासो पनि बढ्दै गएको मन्त्री बस्नेतको भनाइ छ । अस्पतालमा धेरै बिरामीहरू चिकित्सकको लापरबाहीका कारण मृत्यु हुनुका साथै गम्भीर घाइते हुने परिस्थिति सिर्जना हुन थालेपछि पीडितलाई न्याय दिलाउनका लागि छुट्टै ऐन बनाउने सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गरेको उनले बताए । ऐन निर्माणका लागि स्वास्थ्य मन्त्रालयलाई विधेयक बनाउन निर्देशनसमेत दिइसकेको छ।

हाल अस्पतालहरूले अन्तर्राष्ट्रिय मापदण्डअनुसार उपचारका क्रममा बिरामी तथा आफन्तलाई उपचारका क्रममा आउनसक्ने सम्भाव्य खतराको बारेमा जानकारी गराउने र सो क्रममा केही भएमा चिकित्सक जिम्मेवार हुने छैन भनी बाध्यकारी फर्म भराउने चलन छ ।पछिल्लो समय विशेष गरी निजी अस्पतालहरूमा उपचारका क्रममा विरामीको मृत्यु हुने क्रममा बढ्दो छ । एक महिनायता राजधानीस्थित ओम अस्पतालमा मात्रै सामान्य शल्यक्रिया गरेका दुईजना बिरामीको मृत्यु भइसकेको छ । दुवै घटनामा मृतकका आफन्तले चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाएका थिए । यसैबीच, सरकारको उक्त निर्णयको नेपाल चिकित्सक संघले विरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *