कर्णाली याक्ससँग चितवन राइनोज ६ विकेटले पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्ससँग चितवन राइनोज ६ विकेटले पराजित भएको छ। टीयू मैदानमा आज भएको खेलमा चितवन राइनोजलाई हराउँदै कर्णाली याक्सले एनपीएलमा पहिलो जित हात पार्यो।
कर्णालीका विपिन शर्मा र शिखर धवनले उत्कृष्ट प्रदर्शन गरे। शर्माले ३ विकेट लिए भने धवनले ४५ रन जोडे। कर्णाली यसअघि जनकपुर बोल्ट्स र काठमान्डु गुर्खाजसँग पराजित भएको थियो। चितवनको भने यो पहिलो पराजय हो। यसअघि चितवनले लगातार दुई खेल जितेको थियो।
कर्णालीले १३१ रनको लक्ष्य १९.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। चाडविक वाल्टनले ३० तथा देव खनालले २५ रन बनाए। जिसान मक्सुदले अविजित १२ रन बनाए।
चितवनका रिजन ढकालको बलिङमा अर्जुनले सुरुवाती ३ बलमा २–२ रन जोडेपछि जितका लागि ३ बलमा ३ रन आवश्यक भयो। तर चौथो बलमा अर्जुन रनआउट हुँदा २ बलमा ३ रन आवश्यक भयो। पाँचौ बलमा मक्सुदले चौका प्रहार गर्दै कर्णालीको जित निश्चित पारे।
बलिङमा कुशल मल्ल, जान लफ्टी इटन र रवि बोपाराले १–१ विकेट लिए। टस हारेर पहिले ब्याटिङ गरेको चितवनले रवि बोपाराको अर्धशतक मद्दतमा ७ विकेट गुमाएर १३० रन बनाएको थियो। बोपाराले ४० बल खेल्दै ७ चौका र १ छक्का प्रहार गर्दै अविजित ५९ रन बनाए।
बोपारा जारी एनपीएलमा लगातार दुई अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बने। यसअघि उनले पोखरा एभेन्जर्स विरुद्ध ५१ रन बनाएका थिए। बोपाराले कप्तान कुशल मल्लसँग चौथो विकेटका लागि ६० रनको साझेदारी गरेका थिए। कप्तान कुशल मल्लले २३ रन बनाए। २७ बल खेलेका उनले २ चौका र १ छ्क्का प्रहार गरे। विपिन रावलले ११ रन जोडे।
बलिङमा कर्णाली याक्सका युवा बलर विपिन प्रसाद शर्माले सर्वाधिक ३ विकेट लिए। उनले ४ ओभरमा २१ रन खर्चिए। जिसान मक्सुले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए। नन्दन यादवले २ ओभरमा १ मेडन राख्दै ११ रन खर्चेर १ विकेट लिए। कप्तान भने सोमपालले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए।