नेपालबाट ७२ थान डोजर अफगानिस्तान निर्यात

भक्तपुर न्यूज

२१ मंसिर २०८१ ११:५५

नेपालबाट ७२ थान डोजर अफगानिस्तान निर्यात

काठमाडौं । नेपालमा उत्पादन हुने विभिन्न सामान विदेश निर्यात हुनु स्वाभाविक हो । तर, सुन्दा अचम्म लाग्छ, नेपालमै उत्पादन नहुने ‘हेभी इक्विपमेन्ट’ निर्यात भएको देखिएको छ ।

भन्सार विभागका अनुसार यस वर्ष नेपालबाट अफगानिस्तानमा कुल ७२ थान बुल्डोजर निर्यात भएको छ । जसको निर्यात रकम ३२ करोड १९ लाख २३ हजार रुपैयाँ बराबर छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका कोषाध्यक्ष तथा कन्स्ट्रक्सन एन्ड हेभी इक्विपमेन्ट कमिटी सभापति मिलनबाबु मल्लका अनुसार नेपालमा पूर्वाधार निर्माण व्यवसाय सुस्ताएपछि सरकारले निर्यातको बाटो खोलिदिएको थियो ।

उनका अनुसार नेपालमा भारत, दक्षिण कोरिया, जापान, चीन लगायत देशबाट डोजर, एस्काभेटर, बुल्डोजर लगायत हेभी इक्विपमेनट आयात हुने गर्छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिना (साउन–कात्तिक) मा नेपालबाट अफगानिस्तानमा अघिल्लो वर्षको यसै अवधिको तुलनामा ३३११.२३ प्रतिशत धेरै वस्तु निर्यात भएको छ ।

व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रको तथ्यांक अनुसार नेपालबाट वस्तु निर्यात हुने देशमध्ये अफगानिस्तान १३औं स्थानमा उक्लिएको छ । पहिलो स्थानमा भारत छ ।

यस वर्ष कुल ५२ अर्ब ६७ करोड रुपैयाँ बराबर वस्तु निर्यात भएकोमा अफगानिस्तानमा मात्र ३३ करोड बराबर निर्यात भएको छ । गत आव यसै अवधिमा अफगानिस्तानमा १ करोड रुपैयाँको मात्र वस्तु निर्यात भएको थियो । यस प्रकार अफगानिस्तानमा नेपालबाट जाने सामान ३३११.२३ प्रतिशतले बढेको देखिएको छ ।

यसबाहेक यस वर्ष औषधि समेत अफगानिस्तानमा निर्यात भएको देखिन्छ । गत वर्ष यी वस्तु अफगानिस्तानमा निर्यात भएको तथ्यांकमा देखिँदैन । गत वर्ष यसै अवधिमा नेपालबाट तीन थान बोरिङ मेसिन निर्यात भएको देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय