विवाह बन्धनमा बाँधिए साउथ स्टार नागा चैतन्य र शोभिता धुलिपाला

भक्तपुर न्यूज

२० मंसिर २०८१ १३:०७

विवाह बन्धनमा बाँधिए साउथ स्टार नागा चैतन्य र शोभिता धुलिपाला

काठमाडौं । दक्षिण भारतीय कलाकार नागा चैतन्य र शोभिता धुलिपाला विवाह बन्धनमा बाँधिएका छन् । दुवैले बुधबार परम्परागत रुपमा भव्य विवाह गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् १९७६ मा नागा चैतन्यका हजुरबुवा अक्किनेनी नागेश्वर रावले स्थापना गरेको हैदराबादको एउटै अन्नपूर्ण स्टुडियोमा जोडीले विवाह गरेका थिए । विवाहको तस्वीर चैतन्यका पिता अभिनेता नागार्जुनले सेयर गरेका छन् ।

तस्वीरमा शोभिता सुनको एम्ब्रोइडरी–कञ्जीवरम रेशमी साडी र सुनका गहनामा आकर्षक देखिएकी छिन् । चैतन्य सेतो कुर्ता र धोतीमा देखिएका छन् ।

तस्वीर सेयर गर्दै नागार्जुनले लेखेका छन्, ‘शोभिता र नागालेसँगै यो सुन्दर अध्याय सुरु गरेको देख्नु मेरो लागि विशेष र भावुक क्षण हो । मेरो प्यारो छोरालाई बधाई छ र प्रिय शोभितालाई परिवारमा स्वागत छ । तिमीहरूले हाम्रो जीवनमा धेरै खुसी ल्याएका छौ ।’

नागा र शोभिताले अगस्टमा इन्गेजमेन्ट गरेका थिए । मिडिया रिपोर्टका अनुसार दुवैको निजी समारोह नागा चैतन्यका पिता नागार्जुनको घरमा भएको थियो । नागार्जुनको घर हैदराबादको पोश क्षेत्र जुबली हिल्समा अवस्थित छ । नागार्जुनले इन्गेजमेन्टका तस्वीर पनि सामाजिक सञ्जालमा सेयर गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय