एनपीएलमा सुदूरपश्चिम रोयल्सको विजयी सुरुवात, विराटनगर ९० रनले पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सले विजयी सुरुवात गरेको छ । मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले विराटनगरलाई ९० रनले हराएको हो । यो विराटनगरको लगातार दोस्रो हार हो ।
यसअघि उद्घाटन खेलमा विराटनगर जनकपुर बोल्ट्ससँग हारेको थियो । आजको खेलमा सुदूरपश्चिमको बलिङ र ब्याटिङ दुबै गज्जबले चल्यो । मध्यम सुरुवात गरेको सुदूरपश्चिमले ब्राण्डन म्याकमुलन र विनोद भण्डारीको ब्याटबाट रन झार्न थालेको थियो ।
सातौं नम्बरमा ब्याटिङ सम्हाल्न आएका कप्तान दीपेन्द्रसिंह ऐरीले विस्फोट ब्याटिङ गरे । उनले २४ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै अविजित ५७ रन जोडे । उनको ब्याटिङका कारण टोलीले एनपीएलमा १८२ रनको अहिलेसम्मकै उच्च स्कोर खडा गर्यो ।
लक्ष्य पछ्याउन आएको विराटनगरका ब्याटर सुदूरपश्चिमका बलरसामू टिक्न सकेनन् । ओपनर मार्टिन गप्टिललाई उनकै देश न्यूजिल्यान्डका बलर स्कट कुग्गेलिजनले गोल्डन डकआउट गरे । कुग्गेलिजन र अविनाश बोहराले ३/३ विकेट लिए ।