रवि लामिछानेलाई आज साँझ काठमाडौं ल्याइँदै
काठमाडौं । सहकारी ठगीमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज साँझ काठमाडौं ल्याउन लागिएको छ। कास्की प्रहरीको हिरासतमा रहेका उनलाई मौसम अनुकुल भए साँझ साढे ५ बजे काठमाडौं ल्याइने जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
उनलाई काठमाडौंको कालिमाटीमा रहेको स्वर्ण लक्ष्मी सहकारीको रकम अपचलनबारे अनुसन्धानका लागि यहाँ ल्याउन लागिएको हो। उनीविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी भएको छ। उनीमाथि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा सो प्रकरणबारे बयान लिइने छ।
उनीमाथि पोखरामा सूर्यदर्शन सहकारीको रकम अपचलन, संगठित अपराध र सम्पत्ती सुद्धीकरणमा अनुसन्धान भइरहेको छ। यसअघि लामिछानेलाई रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमासमेत बयान लिइसकिएको छ। चितवनको साहारा सहकारीको रकम अपचलनमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भइसकेको छ। काठमाडौंपछि उनलाई चितवनमा लगेर बयान लिइने छ।
