जहाजको टिकट नपाइएपछि रवि लामिछानेलाई काठमाडौं ल्याउने अनिश्चित

भक्तपुर न्यूज

११ मंसिर २०८१ ११:४४

जहाजको टिकट नपाइएपछि रवि लामिछानेलाई काठमाडौं ल्याउने अनिश्चित

काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौं ल्याउन जहाजको टिकट नपाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कास्की प्रहरी प्रवक्ता बसन्तकुमार शर्माका अनुसार लामिछानेलाई आज काठमाडौं ल्याउने तयारी भए पनि जहाजको टिकट उपलब्ध हुन सकेको छैन । पोखरामा बयान सकिएकाले लामिछानेलाई काठमाडौं ल्याउन लागिएको प्रहरीको भनाइ छ । कास्की जिल्ला अदालतले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई काठमाडौं ल्याउन लागिएको हो ।

उनलाई आज बिहान ८ः४० बजेको बुद्ध एयरको हवाईजहाजबाट काठमाडौं पठाउने भनिएको थियो । तर अहिलेसम्म काठमाडौंबाट हवाई टिकट प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डीएसपी बसन्त कुमार शर्माले जानकारी दिएका छन् ।

काठमाडौं को स्वर्णलक्ष्मी सहकारीको बचतकर्ताको रकम हिनामिनाको विषयमा अनुसन्धान गर्न लामिछानेलाई काठमाडौं ल्याउन लागिएको हो । स्वर्णलक्ष्मीको बचत रकम हिनामिनाको विषयमा लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरिएका लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनीमाथि सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *