एमालेलाई जग्गादानसम्बन्धी रिटको पेशी न्यायाधीशद्वय चुडाल र सुवेदीको इजलासमा

भक्तपुर न्यूज

७ मंसिर २०८१ १२:१०

एमालेलाई जग्गादानसम्बन्धी रिटको पेशी न्यायाधीशद्वय चुडाल र सुवेदीको इजलासमा

काठमाडौं । व्यवसायी मीनबहादुर गुरूङबाट नेकपा एमालेले जग्गा लिएको विषयमा परेको रिटमाथि आज सुनुवाइ हुने भएको छ। न्यायाधीश कुमार चुँडाल र शारङ्‍गा सुवेदीको इजलासमा पेशी तोकिएको छ।

यसघि मंसिर ४ गते रिटको पेशी हेर्न नभ्याइने सूचीमा राखिएको थियो। सो दिन न्यायाधीश सपना मल्ल प्रधान र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको थियो। यसअघि कार्त्ति २६ गते रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले रिटमाथि सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गर्दै छलफलका लागि दुवै पक्षलाई कार्त्तिक २६ गतेलाई बोलाएको थियो। सो दिन सुनुवाइका लागि पेशी तोकिए पनि सुनुवाइ भएन। फेरि रिटमाथि सुनुवाइका लागि मंसिर २ गते पेशी तोकिए पनि सो दिन पनि सुनुवाइ हुन सकेन। उक्त दिन रिटलाई हेर्न नभ्याइनेमा राखिएको थियो।

व्यवसायी गुरूङ दम्पतीले एमालेको केन्द्रीय कार्यालय भवन बनाउन जग्गा दान दिएपछि अधिवक्ता ज्ञानबहादुर बस्नेतले जग्गा दान र भवन निर्माण रोक्न माग गर्दै सर्वोच्चमा रिट दिएका हुन्।

भाटभटेनी सुपर मार्केटका सञ्चालक व्यवसायी गुरूङ र उनकी श्रीमती सावित्री गुरूङले काठमाडौंको कीर्तिपुर नगरपालिका-२ मैत्रीनगरमा एमालेका लागि पार्टी कार्यालयका लागि जग्गा दान गरेका थिए। गुरुङ दम्पत्तीले दान गरेको १० रोपनी १४ आना जग्गा असोज २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको केन्द्रीय कार्यालय भवनको शिलान्यास समेत गरिसकेका छन्।

भ्रष्टाचार र सरकारी जग्गा व्यक्तिगत बनाउने अभियोग लागेका व्यवसायीबाट घुसवापत जग्गा दान लिएको भन्दै प्रधानमन्त्री ओलीको चौतर्फी आलोचना भएको छ। पार्टीका नेता तथा कार्यकर्ताहरूले समेत अभियोग लागेका व्यक्तिबाट जग्गा लिन नहुने भन्दै विरोध गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय