निःशुल्क बाल क्यान्सर उपचार सेवा शुभारम्भ

भक्तपुर न्यूज

६ मंसिर २०८१ ११:५४

निःशुल्क बाल क्यान्सर उपचार सेवा शुभारम्भ

भक्तपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क बाल क्यान्सर उपचार सेवाको शुभारम्भ गरेका छन् ।

अस्पतालले बुधबार आयोजना गरेको कार्यक्रममा उनले १४ वर्षमुनिका बालबालिकाको क्यान्सरसम्बन्धी सम्पूर्ण उपचार निःशुल्क सेवाको औपचारिक शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले सबै क्यान्सर भएका बिरामीको निःशुल्क उपचार गर्ने दायित्व सरकारको भएपनि राज्यको स्रोतले नभ्याउने भएकाले हाललाई १४ वर्षसम्मका बालबालिकाको उपचार गर्न सरकारले स्रोत सुनिश्चित गरेको टिप्पणी गरे ।

उनले सरकारले कान्ति बाल अस्पताल (काठमाडौं), भक्तपुर क्यान्सर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क गर्ने निर्णय गरेको बताए ।

उनले क्यान्सर भएका बालबालिकालाई आर्थिक अभावका कारण मृत्युवरण गर्न नपरोस् भन्ने हेतुले समयमै उपचार गरेर उनीहरुको ज्यान बचाउन बाल क्यान्सर उपचार सेवा निःशुल्क गर्ने निर्णय गरेको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८० चैत्र १४ मा विश्व स्वास्थ्य संगठनसँग बालबालिकामा हुने क्यान्सरको उपचारका लागि निःशुल्क औषधी प्राप्तिका लागि सम्झौता गरेको बताउँदै उनले सम्झौताअनुसार नेपालले ४ वर्षसम्म ती औषधी निःशुल्क पाउने बताए ।।

उक्त औषधिहरु हाललाई भक्तपुर क्यान्सर अस्पताल, वीपी कोइराला क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल र पाटन अस्पतालमा उपचार गर्ने बालबालिकामा क्यान्सर देखिएको खण्डमा प्रयोग गरिने उनले जानकारी गराए ।

मन्त्री पौडेलले बाल क्यान्सर उपचार सेवा निःशुल्क गरेसँगै क्यान्सर उपचारको लागि आउने बिरामीहरुको चाप बढ्न सक्नेतर्फ अस्पताल तदारुकताका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।

बालबालिका देशका भविष्य हुन् र उनीहरुलाई स्वस्थ बनाउन सके मात्र देशको भविष्य उज्ज्वल हुने बताउँदै उनले भावी पुस्तालाई स्वस्थ राख्ने उद्देश्यले पनि यो कार्यक्रम सरकारले अगाडि सारेको हो भने ।

भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका बालबालिकालाई मन्त्री पौडेलले निःशुल्क उपचारको कार्ड वितरण गरेका थिए ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले समयमा उपचार भए बालबालिकामा हुने क्यान्सर निको हुने बताउँदै नेपालमा सर्ने भन्दा नसर्ने रोगको प्रकोप बढ्दै गइरहेको बताए ।

नेपालमा मधुमेह, ब्लडप्रेसर र क्यान्सर जस्ता नसर्ने रोगको स्थिति भयावह बन्दै गएको बताउँदै उनले नसर्ने रोग लाग्नबाट नागरिकलाई समयमै सचेत पार्न जनचेतनाका कार्यक्रम सरकारले अगाडि ल्याउनुपर्नेमा जोड दिए ।

भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पतालले स्वास्थ्य बीमा बोर्डसँग रु. २० करोडभन्दा बढी सोधभर्ना लिन बाँकी रहेको बताउँदै उनले सरकारी अस्पताललाई स्वास्थ्य उपकरण र आवश्यक जनशक्ति व्यवस्थापन गरी सुविधासम्पन्न बनाउनुपर्नेतर्फ मन्त्री पौडेलको ध्यानाकर्षण गराए ।

कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, अस्पतालका प्रशासन प्रमुख राजाराम तजले, अस्पतालकी बालरोग विशेषज्ञ डा रितु लामिछानेलगायतले बालबालिकामा क्यान्सरको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै बालबालिकाको निःशुल्क उपचारमा कुनै कसर बाँकी नराख्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *