जर्मनीद्वारा बोस्निया पराजित
काठमाडौं । यूईएफए नेसन्स लिगमा जर्मनीले बोस्नियालाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा जर्मनीले पाहुना टोली बोस्निया एन्ड हर्जेगोभिनालाई ७–० ले पराजित गरेको हो ।
जर्मनीको फराकिलो जितमा फ्लोरिएन रिट्ज र टिम क्लाइनडिस्टले समान २ तथा जमल मुसिएला, काई हाभर्टज र लिरोए सानेले समान १ गोल गरे ।
दोस्रो मिनेटमै मुसिएलाले गोल गर्दै घरेलु टोलीको गोलको खाता खोले । २३औं मिनेटमा टिमले गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारे । यो उनको राष्ट्रिय टोलीका लागि डेब्यु गोल हो ।
३७औं मिनेटमा काईले गोल गरेपछि जर्मनीले पहिलो हाफमा ३–० को अग्रता कायम गर्यो । ५०औं मिनेटमा फ्लोरिएन रिट्जले फ्रिकिकमा सिधै गेल गर्दै जर्मनीलाई ४–० ले अघि बढाए । ५७औं मिनेटमा रिट्जले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गरेपछि जर्मनी फराकिलो जिततर्फ अग्रसर बन्यो ।
६६औं मिनेटमा परिवर्तित खेलाडी लिरोए सानेले गोल गर्दै जर्मनीलाई ६–० ले अघि बढाए । ५८औं मिनेटमा मुसिएलाको स्थानमा मैदानमा छिरेका सानेले काईको पासलाई सदुपयोग गरेका हुन् । त्यसपछि ७९औं मिनेटमा टिमले व्यक्तिगत दोस्रो तथा टोलीका लागि सातौं गोल गर्दै जर्मनीलाई सानदार जित दिलाए ।
जितसँगै जर्मनीले एक खेल अगाडि नै लिग–ए ग्रुप–थ्री जित्ने निश्चित भएको छ । जर्मनी यसअघि नै प्रतियोगिताको क्वाटरफाइनल पनि पुगिसकेको छ ।
यहि समूहको अर्को खेलमा नेदरल्यान्ड्सले हंगेरीलाई ४–० ले हराएको छ । नेदरल्यान्ड्सको जितमा वोउट वेगह्रस्ट, कोडी गाक्पो, डेन्जेल डेम्फ्रेज र टिउन कुपमेइनर्सले गोल गरे । यस जितसँगै नेदरल्यान्ड्सले अर्को चरण पुग्ने सम्भावना बलियो बनाएको छ ।
लिग–बी ग्रुप–वानमा जर्जिया र युक्रेनले एकरएक गोलको बराबरी तथा अल्बानिया र चेक गणतन्त्रले गोलरहित बराबरी खेलेका छन् ।