फिल्म ‘पूर्णबहादुरको सारङ्गी’लाई फेरि चोरीको आरोप
काठमाडौं । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’लाई फेरि चोरीको आरोप लागेको छ । निर्देशक तथा कलाकार अजित लामिछानेले आफ्नो फिल्म ‘लाज’को थिम र केही प्लट फिल्ममा चोरिएको आरोप लगाएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अस्ति बेलुका चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ हेरेपछि म छाङाबाट खसेझैँ भए । म छटपटिए । किनभने मैले लेखेको चलचित्र ‘लाज’को थिम र केहि प्लट चोरिएको पाए । मेरो कथा बाबु बल्ली र छोरो बुधेको कथा हो । बाउले छोराको स्कुल ड्रेस सिलाउन र छोराले सुख पावस र पढि लेखि ठुलो मान्छे बनोस् भनी मृत्यु रोजेको एउटा बाउको कठिन सङ्घर्षको कथा हो ।’
‘पूर्णबहादुरको सारङ्गी’ले अहिले आक्रामक व्यवसाय गरिरहेको छ । नेपालको सबैभन्दा धेरै कमाउने फिल्म बन्न सफल ‘पूर्णबहादुरको सारङ्गी’ सरोज पौडेलले निर्देशन गरेका हुन् । फिल्मको कथा पौडेलले आफ्नो बुबाको निधन भएपछि महसुस भएको विषय बताउँदै आएका छन् ।
फिल्मको कथालाई केही अगाडि उपन्यासकार डा. शिवशंकर बस्यालले सन् २०२० मा बजारमा आएको उपन्यास ‘सङ्ग्रामपुर’ को मूल कथा फिल्मसँग मिलेको आरोप लगाएका थिए । बस्यालले फिल्म हेरिसकेपछि फेसबुकमा लामो स्ट्याटस लेख्दै उपन्याससँग फिल्मको कथा मिलेको ९ बुँदे आधार समेत प्रस्तुत गरेका थिए ।
