भारतको उत्तरपूर्वी राज्य मणिपुरको जिरिबाममा अनिश्चितकालीन कर्फ्यू
काठमाडौं । भारतको उत्तरपूर्वी राज्य मणिपुरको जिरिबाम जिल्लामा अनिश्चितकालीन कर्फ्यू लगाइएको छ । सोमबार शंकास्पद अतिवादीसँगको भिडन्तपछि जिल्लामा कर्फ्यू लगाइएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
मणिपुर प्रहरीले सामाजिक सञ्जालमा सोमबार दिउँसो करिब ३ बजे जिरिबामको जाकुराडोर र बोरोबेकरा पुलिस स्टेशन नजिकै रहेको सीआरपीएफ क्याम्पलाई सशस्त्र चरमपन्थीहरूले निशाना बनाएको बताएको छ। प्रहरीका अनुसार यो भिडन्तमा एक सीआरपीएफ जवान सञ्जीव कुमारलाई गोली लागेको थियो । हाल उनलाई उपचारको लागि असमको सिलचरको मेडिकल कलेज र अस्पतालमा भर्ना गरिएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार जिल्लामा शान्ति कायम गर्न अहिले जिल्लामा कर्फ्यू लगाइएको छ । मणिपुरमा लामो समयदेखि हिंसा भइरहेको छ । यस हिंसामा धेरैले ज्यान गुमाएका छन् भने सम्पत्तिमा पनि ठूलो क्षति पुगेको छ । यस हिंसालाई लिएर विपक्षी दलहरूले केन्द्र सरकारमाथि लगातार आक्रमण गरिरहेका छन् ।
