टुकुचाको फोहर सफा गर्दै काठमाडौं महानगर

भक्तपुर न्यूज

२६ कार्तिक २०८१ ११:११

टुकुचाको फोहर सफा गर्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रका नदी सफाइ अभियानलाई तीव्रता दिएको छ । महानगरको मध्य क्षेत्र भएर बग्ने इच्छुमती (टुकुचा) मा आज महानगर अन्तर्गतको वातावरण विभागले सफाइ गरेको छ ।

इच्छुमतीको भद्रकाली, सिंहदरबार क्षेत्रमा सफाइ गरिएको विभागकी उपनिर्देशक सानुमाया महर्जनले जानकारी दिइन् । इच्छुमतीमा जम्मा भएको फोहर निकालेर किनारमा थुपारिएको छ । विभागले यसअघि असारमा पनि यसरी नै इच्छुमतीलगायत नदी सफाइ गरेको थियो ।

६ महिना नबित्दै फेरि नदीमा जम्मा भएको बोतल, प्लाष्टिकलगायत नकुहिने फोहर सफाइ गरिएको हो । महानगरले सफाइसँगै फोहर गर्नेलाई समातेर कानुनी कारबाहीको दायरामा ल्याउने तयारी पनि गरेको जनाइएको छ ।

महानगरले काठमाडौं उपत्यका भएर बग्ने वाग्मती, विष्णुमती, रुद्रमती, बल्खुलगायत नदीमा पनि सफाइ गर्दै आएको छ । नागरिकस्तरबाट सुरु भएको वाग्मती सफाइ महाअभियान ६ सयौँ हप्तामा प्रवेश गरे पनि उपत्यकाका अन्य नदी भने सफा हुन सकेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय