डोटीमा हात भाँच्चिएकी बालिकाको उपचारका क्रममा मृत्यु
काठमाडौं । डोटीको राजपुरस्थित सुजङ अस्पतालमा उपचारका क्रममा एक बालिकाको मृत्यु भएको छ । लडेर बायाँ हात भाँच्चिएर घाइते भएकी दीपायल–सिलगढी नगरपालिका–३ की ९ वर्षीया रजनी भुलको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार हातको शल्यक्रियाका लागि बेहोस पार्ने क्रममा बालिकाको मृत्यु भएको हो । ‘अहिलेसम्म घटनाबारे बुझ्ने काम मात्रै भएको छ,'जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माले भने,‘ सुरक्षाका लागि तीन जना चिकित्सकलाई प्रहरी कार्यालयमा ल्याएका छौँ ।´
उनका अनुसार डा. राजमणि यादव, डा. सुरेन्द्रकुमार चौधरी र डा. अभिषेक यादवलाई प्रहरीले सुरक्षाका लागि भन्दै कार्यालयमा राखेको हो । ‘मृतकका आफन्त घरबाट आइपुगेका छैनन्,' उनले भने,जाहेरी पनि नआएकोले पक्राउ भने गरिएको छैन । अहिले घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको छ ।’
