कोप–२९ मा नेपालले छुट्टै उच्चस्तरीय सत्र सञ्चालन गर्ने

भक्तपुर न्यूज

२० कार्तिक २०८१ १३:२३

कोप–२९ मा नेपालले छुट्टै उच्चस्तरीय सत्र सञ्चालन गर्ने

काठमाडौं । नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २९औं सम्मेलन (कोप–२९) मा ‘एजेण्डा’ लाई उठान गर्न विभिन्न तयारी गरेको छ ।

यही नोभेम्बर ११ देखि २२ तारिख (कात्तिक २६ देखि मङ्सिर ७ गते) सम्म अजरबैजानको बाकुमा हुने कोप–२९ सम्मेलनमा नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको नेृतत्वमा सहभागिता जनाउँदैछ । उनले उद्घाटनका अवसरमा आयोजना हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’ मा सम्बोधन गर्नेछ ।

यसका साथै नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन नोभेम्बर १३ तारिखमा राष्ट्रपति पौडेलको नेतृत्वमा छुट्टै उच्चस्तरीय सत्र सञ्चालन गर्ने तय भएको वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जानकारी दिए ।

सम्मेलन कक्षमै छुट्टै कार्यक्रम सञ्चालन गर्नका लागि नेपाल सरकारले यूएनएफसीसीसी सचिवालयबाट अनुमति प्राप्त गरिसकेको छ । मन्त्री शाहीका अनुसार यसपटकको सम्मेलनमा ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उच्चस्तरीय बैठकको आयोजना हुने छ ।

बैठकमा संयुक्त राष्ट्रसङ्घका प्रतिनिधि, पर्वतीय देशका प्रमुख तथा प्रतिनिधि, विकास तथा साझेदार निकायका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला निकायका प्रतितिधिको सहभागिता रहने छ ।

कार्यक्रममा नेपालले मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, काठमाडौं उपत्यकालगायत क्षेत्रमा असामान्य मौसमीजन्य घटनाका कारण आएको बाढीपहिरो तथा यसबाट भएको क्षतिबारे जानकारी गराउने तयारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय