उत्तर कोरियाले तालिमका लागि १० हजार सैनिक रुसमा पठाएको अमेरिकी दाबी
काठमाडौं । उत्तर कोरियाले १० हजार सैनिक रुसमा तालिमका लागि पठाएको र सम्भवतः केही हप्तामै युक्रेनविरुद्ध लड्ने सम्भावना रहेको अमेरिकाले दाबी गरेको छ । सोलले मङ्गलबार चेतावनी दिँदै यो तीव्र तैनाथीले ‘महत्त्वपूर्ण सुरक्षा खतरा’ उत्पन्न गरेको बताएको छ ।
सोलले लामो समयदेखि आणविक–सशस्त्र उत्तर कोरियाले मस्कोलाई किएभविरुद्ध लड्न हतियार पठाएको आरोप लगाउँदै आएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले जुनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गरेपछि प्योङयाङले ठूलो सङ्ख्यामा सैनिक तैनाथ गर्न थालेको सोलको आरोप छ ।
उत्तर कोरियाले सैनिक पठाएको अस्वीकार गरेको छ । यद्यपि गत हप्ता सरकारी मिडियामा पहिलो टिप्पणीमा उत्तर कोरियाली उपविदेशमन्त्रीले यस्तो तैनाथी भएमा यो अन्तर्राष्ट्रिय कानून अनुरूप हुने बताएका थिए ।
युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले उत्तर कोरियाले ‘चाँडै’ रुसी भूमिमा १२ हजारसम्म सैनिक पठाउन सक्ने चेतावनी दिएका छन् । जबकि अमेरिकी राष्ट्रपति जो बाइडेनले यस तैनाथीलाई ‘अत्यन्त खतरनाक’ भन्दै आलोचना गरेका छन् ।
पेन्टागनकी उप प्रेस सचिव साब्रिना सिंहले पत्रकारहरूलाई बताएअनुसार उत्तर कोरियाले पूर्वी रुसमा तालिमका लागि कूल १० हजार सैनिक पठाएको छ र यसले सम्भवतः आगामी केही हप्तामा युक्रेन नजिक रुसी सेनालाई बढाउनेछन् ।
नाटो प्रमुख मार्क रुटका अनुसार यो तैनाथी ‘रुसको युद्धको खतरनाक विस्तार’ हो र यो ‘पुटिनको बढ्दो निराशाको सङ्केत’ हो । रुटका अनुसार द्वन्द्व शुरू भएयता छ लाखभन्दा बढी रुसी सैनिक मारिएका वा घाइते भएका छन् र क्रेमलिन विदेशी समर्थन बिना आक्रमण जारी राख्न असमर्थ छ ।
दक्षिण कोरियाली गुप्तचर अधिकारीहरूसँगको ब्रिफिङपछि ब्रसेल्समा उनले उत्तर कोरियाली सैन्य एकाइहरू रुसको पश्चिमी कुर्स्क क्षेत्रमा तैनाथ गरिएको बताए । दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलले मङ्गलबार मस्को र प्योङयाङबीचको बढ्दो सैन्य सहयोग ‘अन्तर्राष्ट्रिय समुदायका लागि महत्त्वपूर्ण सुरक्षा खतरा’ भएको उल्लेख गर्दै सोलले ‘प्रतिकार्य’बारे विचार गरिरहेको चेतावनी दिएका थिए ।
सोलका जासुसी निकायले सांसदहरूलाई दुई देशबीच तीव्र सैन्य सहयोग भइरहेको सङ्केत गर्दै उच्च पदस्थ उत्तर कोरियाली जनरलहरू पनि ‘अग्रपङ्क्तिका क्षेत्रहरूमा जान सक्ने’ बताएको छ ।
प्रमुख हतियार निर्यातक दक्षिण कोरियाले युक्रेनलाई सिधै हतियार आपूर्ति गर्ने बारेमा पुनर्विचार गर्ने यसअघि नै बताएको थियो ।
पुनर्विचार गर्न उसका पश्चिमी सहयोगीहरूले लामो समयदेखि माग गर्दै आएका थिए । सोलले अहिलेसम्म लामो समयदेखिको घरेलु नीतिका कारण यो कदम चाल्न अस्वीकार गर्दै आएको छ ।
