कुटपिट गरी हत्या गरेको अभियोगमा तीनजना पक्राउ
काठमाडौं । सुर्खेत लेकबेँसी गाउँपालिका–२ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा–९ मा बसोबास गर्दै आएका ४३ वर्षीया होमबहादुर फौजामगरलाई कुटपिट गरी हत्या गरेको अभियोगमा संलग्न रहेको जनाउँदै प्रहरीले तीनजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा पाँचथर तुम्लिङ गाउँपालिका–५ घर भई हाल काठमाडौं बूढानीलकण्ठ नगरपालिका–१० कपन बालुवाखानी बस्ने ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ घर भई हाल बूढानीलकण्ठ–१० कपन बस्ने ३५ वर्षीय भुवन श्रेष्ठ तथा इलाम माई नगरपालिका–२ घर भई हाल काठमाडौं गोकर्णेश्वर–६ नयाँबस्ती बस्ने २७ वर्षीया विमला भट्टराई रहेकी जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले अन्दाजी ६ः५० बजेको समयमा निजहरुलाई तीनै जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ परेकाहरुमाथि प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।
