काठमाडौं महानगरले गौशाला धर्मशाला सञ्चालन गर्न जिल्ला प्रशासनसँग माग्यो सुरक्षा
काठमाडौं । काठमाडौं महानगरपालिकाले पशुपतिस्थित गौशाला रहेको धर्मशाला सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग शान्ति सुरक्षा माग गरेको छ। मंगलबार महानगरपालिकाले प्रशासन कार्यालय काठमाडौंलाई एक पत्र लेख्दै शान्ति सुरक्षासहित निर्णय कार्यान्वयनमा सहयोगका लागि अनुरोध गरेको हो ।
पत्रमा धर्मशालाको व्यवस्थापनको जिम्मेवारी महानगरपालिकाले पाएकाले उक्त सहमति बमोजिम धर्मशाला सञ्चालन तथा व्यवस्थापन गर्न शान्ति सुरक्षा सहित आवश्यक सहयोगका लागि अनुरोध गरिएको छ । जुन पत्र मंगलबार नै महानगरपालिकाले मारवाडी सेवा समितिले विरोध गरिरहेको गौशाला धर्मशालामा टाँसेको छ ।
कोषले मारवाडी सेवा समितिबाट खोसेर महानगरपालिकालाई गौशालाको जिम्मेवारी दिएसँगै समितिले विरोध गरिरहेको छ भने महानगरले कुनै पनि हालतमा सहमतिअनुसार काम अघि बढाउने भन्दै होरिङ बोर्डसमेत टाँसिसकेको छ ।

