अस्पतालको आइसियु सर्वधारणको पहुँच भएन्
काठमाडौँ, २५ भदौ । सर्वसाधारणको उपचारका लागि सरकारी अस्पतालमा सघन उपचार कक्ष ९आईसीयू० पाउन कठिन हुन थालेको छ। जनशक्तिको अभाव हुँदा सरकारी अस्पतालमा कम आईसीयू सञ्चालन भइरहेको र ती आईसीयूमा पनि प्रभावशालीको पहुँच हुँदा सर्वसाधारणले कठिनाइ भोग्नुपरेको हो।
केही दिनअघि धादिङ सुनौलो बजारकी लक्ष्मी रोकाले ११ महिने छोरा सुनीललाई निमोनिया भएपछि कान्ति बाल अस्पताल पुर्याइन्। सुनीलको प्रारम्भिक उपचार गरेपछि चिकित्सकले छोरालाई आईसीयूमा राख्न सिफारिस गरे तर कान्तिमा आईसीयू उपलब्ध थिएन। रोकासँग छोरालाई निजी अस्पतालमा लैजाने गरी उपचार खर्चको अभाव थियो। धादिङबाट सात हजार रुपियाँ लिएर छोराको उपचारका लागि कान्ति बाल अस्पताल आउनुभएकी लक्ष्मीलाई कान्तिबाट अरू अस्पताल लैजान आर्थिक कठिनाइ थियो।
कान्तिकै चिकित्सकले आईसीयूका लागि निजी अस्पतालमा फोन गरिदिए। रोकाका छोराको भक्तपुरस्थित सिद्धि स्मृति महिला तथा बालबालिका अस्पतालको आईसीयूमा बिहान ४ बजे मात्रै भर्ना गरियो। आईसीयूमा राख्न सुरुमै १८ हजार पाँच सय धरौटी राख्नुपर्ने थियो। त्यति धेरै पैसा लक्ष्मीसँग थिएन। लक्ष्मीका श्रीमान्ले आफन्तसँग पैसाको जोहो गरेर धरौटी राखेपछि बल्ल सुनीलको उपचार सुरु भयो। तीन दिन आईसीयूमा राखेर उपचार गरेपछि अहिले सुनीललाई वार्डमा सारिएको छ। अहिले सुनीलको स्वास्थ्य सामान्य बन्दैगएको लक्ष्मी बताउँछिन्। सुनीललाई आईसीयूबाट वार्डमा सारेपछि लक्ष्मीलाई छोराको चिन्ताभन्दा घरमा रहेको लैनो भैँसीको चिन्ता लाग्न थालेको छ।