रुद्रवेणी–पूर्तिघाट सडक हिजोदेखि अवरुद्ध
काठमाडौं । गुल्मीमा कालीगण्डकी करिडोर सडक अन्तर्गत रुद्रवेणी–पूर्तिघाट सडक हिजोदेखि अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा सडक माथिबाट ठूलो चट्टानसहितको पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोख्रेलले जानकारी दिए ।
अवरुद्ध सडक सञ्चालन गर्न निर्माण व्यावसायी, स्थानीय पालिका र प्रशासनबाट पहल भए पनि सडक माथिबाट पहिरोसँगै ठूलो चट्टान खसेका कारण सडक सञ्चालन गर्न समस्या परेको छ । सडक अवरुद्ध हुँदा गुल्मीको सदरमुकाम तम्घास आउने र पाल्पा हुँदै बुटवलसम्म जाने लामो तथा छोटो दूरीका गाडी चल्न सकेका छैनन् ।
वर्षाका कारण पहिरो गएपछि गुल्मीका तीन दर्जनभन्दा धेरै ग्रामीण सडकसमेत अवरुद्ध बनेका छन् । चाडपर्वको समयमा सडक अवरुद्ध बनेपछि दशैँमा घर फर्कने मानिसहरू समस्यामा परेका छन् । वर्षा नरोकिएका कारण स्थानीय पालिकाहरूले पनि सडकमा खसेको पहिरो तत्काल पन्छाउन सकेका छैनन् ।
