बागमती प्रदेश सरकारले बाढीपहिरो लगायत विपद् प्रभावितको निःशुल्क उपचार गर्ने
काठमाडौं । बागमती प्रदेश सरकारले बाढीपहिरो लगायतका विपद् प्रभावितको निःशुल्क उपचार गर्ने भएको छ। बागमती प्रदेश सरकारको प्रदेशस्तरीय विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले विपद् प्रभावित नागरिकहरुको निःशुल्क उपचारको व्यवस्था प्रदेश स्वास्थ्य मन्त्रालयले गर्ने निर्णय गरेको हो।
बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत प्रदेशको १३ वटै जिल्लाको जिल्लास्तरीय विपद् व्यवस्थापन समितिलाई रकम पठाउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए।
आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेको संयोजकत्वमा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले विपद्बाट प्रभावित जिल्लाका मृतक परिवारलाई राहत उपलब्ध गराउने गरी जिल्ला विपद् व्यवस्थापन समितिमा रकम पठाउने निर्णय गरेको छ।
बैठकले विपद्बाट बढी प्रभावित काभ्रेपलाञ्चोकलाई रु ६० लाख, धादिङलाई रु ५० लाख, ललितपुरलाई रु ३० लाख, काठमाडौं र सिन्धुपाल्चोकलाई रु २० लाख, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर र भक्तपुरलाई रु १०/१० लाख राहत वितरणका लागि उपलब्ध गराउने निर्णय गरेको उनले बताए।
प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि २०८० को दफा ३ अनुसार खोज उद्धार तथा प्रतिकार्यका लागि कार्यविधिको दफा ५९१० अनुसार १३ वटै जिल्लाका विपद् व्यवस्थापन कोषमा रु पाँचरपाँच लाखका दरले रकम उपलब्ध गराउने निर्णय गरिएको उनले जानकारी दिए।
सो बैठकले अवरुद्ध सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय, सुरक्षा निकाय, स्थानीय तहसँग समन्वय गरी कामअघि बढाउने र सोका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने निर्णय गरेको छ।
