देशभर वर्षा : बाढीपहिरो आउने सम्भावना

भक्तपुर न्यूज

११ असोज २०८१ ६:१४

देशभर वर्षा : बाढीपहिरो आउने सम्भावना

काठमाडौं ।  देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । हाल देशका अधिकांश स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भैरहेको मौसम विज्ञान विभागले जनाएको छ । पूर्व र पश्चिम नेपालका केही ठाउँमा ठूलो पानी परेको छ । पछिल्लो ३ घण्टामा उदयपुर, सप्तरी, सिराहा आसपासका विभिन्न ठाउँमा मध्यमदेखि भारी वर्षा भएको  विभागले जनाएको छ ।

पछिल्लो १ घण्टामा कन्चनपुरको सुन्दरपुर वर्षामापन केन्द्र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ । गएराति कैलालीको धनगढी (अत्तरिया) वर्षामापन केन्द्र आसपासको क्षेत्रमा मध्यम वर्षा मापन भएको छ । यसमध्ये केही क्षेत्रमा थप वर्षासमेत हुने सम्भावना रहेकोले आसपासका नदी तथा खोला तटीय क्षेत्रमा बाढीको जोखिम रहेको विभागले जनाएको छ । यसैगरी तराईंका केही क्षत्रेमा डुबानसमेत हुनसक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र  कर्णाली  प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति पनि देशका धेरै स्थानमा पानी पर्ने सम्भावना छ । राति बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव नेपालमा रहेको महाशाखाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय