इजरायल-लेबनान युद्धमा अहिलेसम्म ९० हजार मानिस विस्थापित

भक्तपुर न्यूज

१० असोज २०८१ ७:१२

इजरायल-लेबनान युद्धमा अहिलेसम्म ९० हजार मानिस विस्थापित

काठमाडौं । इजरायले लेबनानमा आक्रमण गरेपछि अहिलेसम्म ९० हजारभन्दा बढी मानिस विस्थपित भएका छन् । इजरायली सेनाले दक्षिणी लेबनान र बेक्का क्षेत्रमा व्यापक हमला सुरु गरेपछि ९० हजारभन्दा बढी लेबनानी विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली हवाई हमलाहरूमा बुधबार थप ५१ जनाको मृत्यु भएको जनाएको छ । इरान समर्थित हिज्बुल्लाहले आफूले इजरायली आक्रमण रोकिरहेको र प्यालेस्टाइनसँग ऐक्यबद्धता रहेको जनाएको छ । इजरायलले भने हिज्बुल्लाहको खतरा हटाउने उद्देश्य राखेर युद्ध गरिएको जनाएको छ ।

गत अक्टोबर ८ तारिखयता इजरायल र हिज्बुल्लाहबीच दैनिकजसो सीमापार हमला भइरहँदा उत्तरी इजरायलमा ६०,००० मानिस विस्थापित भएका छन् । इजरायलले लेबननमा हिजबुल्लाहविरुद्धको कारबाहीमा सेनाका थप दुई रिजर्भ ब्रिगेड परिचालन गर्न लागिएको जनाएको छ ।

इजरायलका उत्तरी कमाण्डका प्रमुख मेजर जनरल ओरी गोर्डिनले आफूहरू कारबाही अभियानको नयाँ चरणमा प्रवेश गर्न लागेको र त्यसका निम्ति आफ्नो सेना पूर्ण रूपमा तयार भएको बताएका छन् । इजरायलले हिजबुल्लाहविरुद्ध थप व्यापक हवाई आक्रमणहरू जारी राख्दा हिजबुल्लाहले पनि उत्तरी इजरायलमा जबाफी आक्रमण गरिरहेको छ ।

लेबनानमा पछिल्ला केही दिनका घटनामा महिला र बालबालिकासहित छ सयभन्दा बढीको मृत्यु भइसकेको छ । घाइतेहरूको संख्या धेरै हुँदा त्यहाँका अस्पतालहरू सेवा दिन नसक्ने अवस्थामा पुगेका छन् । लेबनानको विदेश मन्त्रालयले दक्षिणी लेबनानबाट पाँच लाख मानिसहरू घर छाडेर भागेको जनाएको छ ।

यसैबीच चर्किरहेको परिस्थितलाई मत्थर पार्न कूटनीतिक प्रयासहरू भइरहँदा र फ्रान्स र अमेरिकाले २१ दिने युद्ध विराम प्रस्ताव गरेका छन् । वरिष्ठ अमेरिकी अधिकारीहरू छोटो समयका लागि भएपनि युद्ध विराम गराउने प्रयासमा छन् । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले संयुक्त राष्ट्रसङ्घमा बोल्ने क्रममा लेबननमा युद्ध हुन नसक्ने बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले पनि युद्ध विराम तत्काल कार्यान्वयन गर्न अपिल गर्दै स्थिति नियन्त्रण बाहिर गइरहेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय