थिमि नगरपालिकाद्धारा करिब १३ करोड राजश्व संकलन 

भक्तपुर न्यूज

२३ भदौ २०७४ १:५०

थिमि नगरपालिकाद्धारा करिब १३ करोड राजश्व संकलन 

भक्तपुर, २३ भदौ । मध्यपुरथिमि नगरपालिकाले आव ०७३÷०७४ मा ६ करोड ७७ लाख २० हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकामा १ सय ९१ दशमलव १७ प्रतिशत वृद्धि गरी  १२ करोड ९४ लाख ६० हजार संकलन गरेको छ ।  नयाँ जनप्रतिनिधिले १०० दिनमा गरेका काम तथा प्रगति सार्वजनिक गर्दै नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जनप्रतिनिधि आएपछि प्रत्येक वडाध्यक्षलगायतले राजस्व संकलनमा कडाइ गरेपछि वृद्धि भएको जिकिर गरेका छन् । त्यसैगरी नगरपालिकाको कूल  ७३ करोड ९८ लाख ८९ हजारको बजेटमध्ये नगरका प्रत्येक वडालाई प्रतिवडा रु एक करोड ४० लाखका दरले विनियोजन गरिएको छ ।

फोहोर व्यवस्थापनका लागि एउटा फोहोर संकलनको सवारी साधन र एउटा डोजर खरिद गरिएको जानकारी दिँदै श्रेष्ठले नगरको फोहोर अब ओखरपौवा लानुनपर्ने गरी थिमिमै व्यवस्थापन गरिने बताए । नगरप्रमुख श्रेष्ठले उपभोक्ता समितिमार्फत विकास निर्माणका काम गरिने बताउँदै सार्वजनिक एवं पर्ती जग्गाको पहिचान गरी संरक्षण गर्न  एक करोड बजेट विनियोजन गरिएको जानकारी दिए । त्यसैगरी अशक्त र बिरामी नागरिकको सामाजिक सुरक्षाभत्ता नगरपालिकाले प्रत्येक चौमासिकमा घरघर गएर वितरण गर्ने व्यवस्था गरिएको जनाइएको छ ।

नगरपालिकाले नगरपालिका सञ्चालनका लागि विभिन्न निर्णय, आदेश र अधिकारपत्रको प्रमाणीकरण, कार्यविभाजन नियमावली, कार्यसम्पादन नियमावली, कार्यपालिका बैठक सञ्चालन कार्यविधि, नगरसभा बैठक सञ्चालन कार्यविधि निर्माण पनि गरेको छ । नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवालीले नगरपालिकाको विकासका लागि जनप्रतिनिधिको भूमिका उल्लेख्य रुपमा अगाडि बढेकाले कर्मचारीलाई काम गर्न सहज भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *