नेपाल भाषाको करिब ११५ वर्ष अघिको ‘राजमती’ अब नेपाली भर्सनमा

भक्तपुर न्यूज

२० भदौ २०८१ ६:१२

नेपाल भाषाको करिब ११५ वर्ष अघिको ‘राजमती’ अब नेपाली भर्सनमा

काठमाडौं । नेपाली समाजमा करिब २ सय ५० वर्षअघि नै लोकप्रिय भई पुस्तान्तरण हुँदै आएको र पहिलो पटक करिब ११५ वर्ष पहिला भारतको कलकत्तामा रेकर्ड गरिएको कालजयी गीत ‘राजमती’ को नेपाली भाषामा पनि पुन लेखन ,संगीत र एरेन्ज गरी सार्वजनिक गरिएको छ ।

बुधवार काठमाडौंको‌ सिटी सेन्टर स्थित फुडकोर्टमा आयोजित कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले ‘राजमती’ गीतको नेपाली भर्सन सार्वजनिक गरेका हुन् । नेपालको पहिलो गायक सेतुराम प्रधानले विसं १९६५ ताका भारतको कलकत्ता गई नेपाली र नेपाल भाषाका राजमतीसहित १४ वटा गीतहरू आफैँले गाएर ग्रामोफोन डिस्कमा रेकर्ड गराएका थिए ।

नेपालीले ग्रामोफोन डिस्कमा रेकर्ड गराएको पहिलो घटना यही हो । यही सर्वप्रिय गीतलाई नेपाली भर्सनमा गीतकार कृष्णदेव रिमालको भाषा सम्पादन, गायक कृष्ण काफ्लेको स्वर र सन्तोष श्रेष्ठको संगीत संयोजनमा ल्याइएको हो ।

गएको दुई सय ५० वर्षदेखि आजको मितिसम्मै उत्तिकै जोस, जाँगर र रसका साथ लगातार गाइने कालजयी गीतलाई अझ ससारभरका नेपालीभाषी थप परिचित बनाउने उद्देश्य सहित नेपाली भर्सनमा ल्याएको निर्माता कम्पनी ड्रिम वर्ल्ड अफ फिल्म मेकर्सले जनाएको छ । गीतलाई १०० वर्ष अगाडिको कथाबस्तु अनुसार नै बनाइएको र शोही अनुरुप भिडियो निर्माण गरिएको हो । सागर खनाल र सोनी लगुन लगायत धेरै कलाकारहरुको अभिनय रहेको भिडियोको कन्सेप्ट र निर्देशन सबनम मुखियाको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय