बालेनले हटाए एमाले सांसदबारे फोटो सहित लेखेको ‘विवादित स्टाटस’
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फेसबुक पेजबाट नेकपा (एमाले) लुम्बिनी प्रदेश सांसद रेखा शर्माको फोटो सहितको स्ट्याटस हटाएका छन्। एमाले सांसद शर्माले बालशोषण गरेको र उनलाई पक्राउ गर्नुपर्ने भन्दै आइतबार स्ट्याटस राखेका थिए।
मेयर बालेनले उक्त स्ट्याटस माइक्रो ब्लगिङ साइट एक्समा पनि राखेका थिए। एक्समा भने उक्त स्टाटस हटाइएको छैन। तर फेसबुकबाट मेयर शाहले उक्त स्ट्याटस हटाएका छन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयले धेरै मानिसहरूले रिपोर्ट गरेपछि फेसबुकले आफै मेयर शाहको पेजको स्टाटस हटाएको बताएको छ।
हटेको उक्त स्टाटस रिकभर गर्ने प्रयास भइरहेको मेयर शाहको सचिवालयले जनाएको छ। मेयर बालेनका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईले धेरै मानिसले एकसाथ रिपोर्ट गरेपछि फेसबुकले नै स्टाटस हटाइदिएको बताए।
सांसद शर्माको घरबाट महानगरले एक जना नाबालिका घरेलु बालश्रमिकको उद्धार गरेको थियो। सांसद शर्माले बालिकालाई २०७५ वैशाखमा काठमाडौं ल्याएकी थिइन्। कक्षा दुईदेखि सातसम्म उनकै घरम बसेर पढेकी बालिकालाई कुटपिट गरेको उजुरीपछि महानगरले उद्धार गरेको बताउँदै आएको छ। बालिका अहिले महानगरकै संरक्षण छिन्।
