आज मोतीराम भट्टको १५९ औं जन्मजयन्ती मनाइँदै

भक्तपुर न्यूज

१७ भदौ २०८१ ५:०९

आज मोतीराम भट्टको १५९ औं जन्मजयन्ती मनाइँदै

काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५९ औं जन्मजयन्ती आज मनाइँदैछ ।

साहित्यकार तथा साहित्यिक प्रतिष्ठानहरुले उनको व्यक्तित्व तथा कृतित्वमाथि विश्लेषण गर्दै जन्मजयन्ती मनाउँदै छन् ।

वि.सं. १९२३ भाद्र कृष्णऔंसी अर्थात् कुशेऔंसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्णऔंसी अर्थात् कुशेऔंसीकै दिन उनको निधन भएको थियो ।

तीस वर्षको उमेरमा परलोक भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्‍याएका थिए । नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका थिए । साथै नेपालमा छापाखाना भित्र्याउने काम पनि उनले नै गरेका थिए ।

युवाकवि भट्टले आदिकवि भानुभक्तले रचना गरेको रामायण विसं १९४१ मा छापेर सार्वजनिक गरेका थिए। भानुभक्तलाई चर्चामा ल्याउने काम उनले गरेका थिए । भट्टका ‘भानुभक्तको जीवन चरित्र’, ‘प्रियदर्शिका’ नाटक, ‘पिकदूत’ खण्डकाव्यलगायत कृति चर्चित छन् ।

शृङ्गारिक धाराका गजलकार भट्टले नेपाल र वनारसमा पनि मोती मण्डली बनाएर पद्मनाभ, काशीनाथ, चेतनाथ, तेजविलासलगायतलाई पनि साहित्यमा अघि बढाएको नेपाली साहित्यका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले बताए।

नेपाली कविताको माध्यमिककालका केन्द्रीय प्रतिभा भट्टले लेखेका गजल व्यङ्ग्यात्मक शैलीका समेत हुन्थे । ‘जता हे¥यो त्यतै मेरो नजर्मा राम प्यारा छन्’, ‘पाकेको फल छाडी जानु परदेश कुन शास्त्रको धर्म हो’ यी उनका गजलका नमूना हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय