‘तेल भिसा’को पहिलो लिरिकल गीत ‘हरि नाम झैँ’ सार्वजनिक
काठमाडौं । निर्देशक शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘तेल भिसा’को पहिलो लिरिकल गीत ‘हरि नाम झैँ’ सार्वजनिक भएको छ । सोमबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर सिनेमाको पहिलो गीत सार्वजनिक गरिएको हो ।
कल्याण सिंहको संगीत तथा हर्क साउदको शब्द रचना रहेको गीतमा निशान भट्टराई र समीरा थपलियाको स्वर छ । सिनेमाका मुख्य कलाकार विपिन कार्की, वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ र सुचित्रा उप्रेती फिचर्ड लिरिकल गीतमा सिनेमाका चल अचल दृश्यहरू समावेश गरिएका छन् । सिनेमाका मुख्य अभिनेता विपिन कार्कीकी स्वर्गीय आमा सरस्वती कार्कीप्रति यो गीत समर्पित गरिएको छ ।
सिनेमामा अभिनेता विपिन कार्की दोहोरो भूमिकामा देखिएका छन् । सिनेमामा विपिनको जवान र वृद्ध गरी दुई फरक अवतार दर्शकले हेर्न पाउने छन् । ‘तेल भिसा’बाट निर्देशक शंकर घिमिरे १२ वर्षपछि निर्देशनमा कमव्याक गर्दैछन् । यसअघि उनले ‘विष’, ‘वीरताको चिनो’, ‘ब्रेकफेल’ र ‘तुलसी’ लगायतका सिनेमा निर्माण तथा निर्देशन गरेका थिए । आगामी मंसिर ७ गतेबाट सिनेमा नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउँदैछ ।
