रोल्पाका जिशिअमाथि हातपात गर्दै कालोमोसो
रोल्पा, १२ भदौ । रोल्पाका जिल्ला शिक्षा अधिकारीलाई कालोमोसो दलेर जुत्ताको माला लगाएका छन् । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनले रोल्पाका जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेललाई कालोमोसो दलेर जुत्ताको माला लगाएका हुन् ।
आज बिहान करिव साढे सात बजे स्रोत व्यक्तिको बैठक चलिरहेकै बेला पौडेलमाथि पार्टीनिकट विद्यार्थी संगठनका विद्यार्थीले कालोमोसो लगाई दिएका हुन् । पौडेलले विभिन्न विद्यालयको भवन निर्माण गर्दा ५ हजारदेखि २० हजारसम्म घुस लिएको, विद्यालयको आवश्यकता भन्दा पनि फरक विषयका शिक्षक घुस खाएर नियुक्ति गरेको, घुस दिने शिक्षकलाई समयमै तलब निकासा गर्ने र अन्यको खाता रोक्का गर्ने गरेको, घुस लिएर शिक्षा ऐन विपरित शिक्षकको सरुवा गरेको लगायतका आरोप लगाउँदै अनेरास्वव्यु क्रान्तिकारीका कार्यकर्ताले दुर्व्यहार गरेका हुन् ।
त्यस लगत्तै उनीहरुले कालो मोसो दल्न थाले पछि जिशिअ पौडेलले प्रतिबाद गर्दा हातपात समेत भएको थियो । हातपातका कारण पौडेलको टाउकोमा चोट लागेकाले उपचारका लागि जिल्ला अस्पताल रेउघा लगिएको छ । मोसो दले लगत्तै उनीहरु त्यहाँबाट भागेका थिए । मोसो दल्ने व्यक्तीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।