हनुमन्ते नदी बस्तीमा पसेपछि स्थानीयको जनजीवन प्रभावित

भक्तपुर न्यूज

२२ साउन २०८१ ९:३५

हनुमन्ते नदी बस्तीमा पसेपछि स्थानीयको जनजीवन प्रभावित

भक्तपुर भक्तपुरको सहरी क्षेत्रमा पानी नपरे पनि हिजो साँझबाट उर्लेर आएको हनुमन्ते नदी भक्तपुरका बस्तीमा पसेको छ। काभ्रेको नाला, भक्तपुरको ताथलीलगायतका क्षेत्रमा परेको भिषण वर्षाका कारण काभ्रेदेखि आएको बाढी हनुमन्तेमा नदीभन्दा माथि उर्लिएपछि बस्तीमा पसेको हो।

भक्तपुरको थुसाचामा पुलमाथि बाढी पसेपछि जगातीबाट च्यामासिंह जाने सडक नै अवरुद्ध भएको छ। बाढी नदीबाट माथि आएर सडकबाट खोला बग्न थालेको छ। आसपासका घर एवं बस्तीमा पानी पसेको छ। जिल्लाको हनुमानघाट, सूर्यविनायकका राम मन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थान लगायतका क्षेत्रमा बाढी बस्तीमा पसेर डुबानमा परेको छ। राम मन्दिर, बाराहीस्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा पानी पसेको हो।

हनुमन्ते नदीमा आएको बाढीका कारण भक्तपुर नगरपालिका क्षेत्रको राम मन्दिर, बाराही क्षेत्रदेखि हनुमन्ते नदी किनाराका मध्यपुरथिमि क्षेत्रको राधेराधे, सूर्यविनायकको बालकोट, चारदोबाटो र हनुमन्ते नदीको सहायक नदी एवं खोलासमेतमा बाढीको बहाब बढेको छ। बाढी पसेपछि जगाती, च्यामासिंह, हनुमानघाट, बाराहीस्थानको जनजीवन प्रभावित भएको छ।

भक्तपुरका विभिन्न वर्षा मापन केन्द्र एवं जल तथा मौसम विज्ञान विभागले आज हनुमन्ते खोला जगातीको जलमापन केन्द्रमा हालको जलसतह सर्तकता तहमा पुगेको र नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्क रहन सन्देश एवं सूचना जारी गरिएको छ।

प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बाढी, पहिरो र डुबानबाट हुनसक्ने क्षति न्यूनिकरण गर्न प्रशासनले सुरक्षा निकाय, चारवटै नगरपालिका र नेपाल रेडक्रस सोसाइटीलाई उच्च तयारीका साथ राखेको जानकारी दिँदै प्राकृतिक विपत्ति परेको स्थानमा आधा घन्टामै सुरक्षा निकायको टोली पुगेर उद्धार गर्ने, जोखिम रोकथाम र राहत सामग्री वितरण गर्दै आएको बताइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय