बंगलादेशमा प्रमुख विपक्षी पार्टी बीएनपीले तत्काल अन्तरिम सरकार बनाउन माग
काठमाडौं । बंगलादेशको प्रमुख विपक्षी पार्टी बंगलादेश नेशनलिष्ट पार्टी (बीएनपी) ले तत्काल अन्तरिम सरकार गठनको माग गरेको छ। स्थायी कमिटी बैठकलगत्तै ढाकामा पत्रकार सम्मेलन गर्दै बीएनपीका महासचिव मिर्जा फखरुल इस्लाम अलमगीरले अन्तरिम सरकार गठन नभए राजनीतिक शून्यता पैदा हुनसक्ने बताए।
अन्तरिम सरकारको नेतृत्वका लागि राष्ट्रपतिबाट कुनै पनि नाम प्रस्ताव नगरिएको उनले बताए। राष्ट्रपतिले प्रधानमन्त्रीको नाम मागेमा आफूहरू दिन तयार रहेको उनको भनाइ छ। आन्दोलनरत छात्रछात्रा भने नोबेल पुरस्कार बिजेता अर्थशास्त्री मोहम्मद यूनुसलाई प्रधानमन्त्री बनाउनुपर्ने पक्षमा छन्।
छात्रछात्राप्रति आफूहरूको पूरा भरोसा रहेको भन्दै महासचिव अलमगीरले सर्वदलीय विषयलाई पनि महत्व दिनुपर्ने बताएका छन्। उनले तीन महिना भित्र चुनाव गराएर सत्ता सुम्पनका लागि पनि आग्रह गरेका छन्।
