मंगलबारदेखि देशभर अत्यधिक पानी पर्ने सम्भावना , ३५ जिल्लामा रेड अलर्ट
काठमाडौं । मंगलबारदेखि देशभर फेरि अत्यधिक पानी पर्ने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागले सोमबार विशेष मौसम बुलेटिन जारी गरी २२ र २३ साउनमा देशभरि मनसुन सक्रिय हुन लागेको जानकारी दिएको हो।
अहिले पूर्वमा सरदर स्थानको उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ रहेको मनसुन न्यूनचापीय रेखा मंगलबारबाट नेपाल नजिक सर्ने सम्भावना देखिएको विभागले जनाएको छ। न्यूनचापीय रेखा नेपालतिर सरेसँगै वायुको चापका कारण जलवाष्प बोकेका बादल नेपालतिर सोहरिन्छन्, जसले गर्दा पानी पर्छ। विभागले ३५ जिल्लामा अत्यधिक पानी पर्न सक्ने भएकाले जोखिम हुन सक्ने देखाएको छ। ती जिल्लामा प्रतिकार्यका लागि तयार रहन भनिएको छ।
मंगलबार र बुधबार देशभरिको आकाशमा साधारणतयादेखि पूर्णतया बादलले ढाकेर अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली र मधेश प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। साथै, बागमती, गण्डकी र लुम्बिनी प्रदेश एक/दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना छ।
यस अवधिमा भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकाले शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको विभागले जनाएको छ। विभागले ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सुझाव दिएको छ।

