निर्माणाधीन संसद्‌ भवनको काम ९ महिनाभित्र सक्न उपप्रधानमन्त्री सिंहको निर्देशन

भक्तपुर न्यूज

१५ साउन २०८१ ७:४९

निर्माणाधीन संसद्‌ भवनको काम ९ महिनाभित्र सक्न उपप्रधानमन्त्री सिंहको निर्देशन

काठमाडौं । उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले संसद् भवन निर्माणको गति सुस्त देखिएको भन्दै चासो व्यक्त गरेका छन् । काम गति सुस्त भएको गुनासो पछि मंगलबार निरीक्षणमा पुगेका उपप्रधानमन्त्री सिंहले सिफ्ट बढाएर भए पनि बाँकी रहेको काम ९ महिनाको समयावधिभित्र सक्न निर्देशन दिए । त्यसका लागि आवश्यक सहजीकरण गर्न मन्त्रालय तयार रहेको भन्दै उनले काम समयमै सक्नुपर्नेमा जोड दिए ।

उपप्रधानमन्त्री सिंहले समयमै काम सम्पन्न हुनेगरी दैनिक तीन सिफ्टमा काम गर्न आफूहरुले निर्माण कम्पनीलाई घच्घच्याउने काम गरिहेका बताए । ‘समयमा भवन निर्माणको काम सम्पन्न गर्न के समस्या छ ? मन्त्रालयले के सहजीकरण गर्नुपर्छ ? मन्त्रालय तयार छ । काम छिटो हुनुपर्यो । दोहोरो, तेहरो सिफ्टमा काम गरेर भए पनि बाँकी रहेको समयावधि ९ महिनामा बाँकी सबै काम काम सक्नुपर्‍यो,’ उपप्रधानमन्त्री सिंहले निरीक्षणपछि भने ।

मन्त्रालयका अनुसार आगामी नौ महिनाभित्र अथवा आगामी चैत्र १८ गतेसम्मका सो भवनको निर्माण कार्य सम्पन्न गरिसक्ने पछिल्लो सम्झौता छ । त्यस अवधिभित्र सम्पन्न हुनेगरी काम गर्न निर्माण कम्पनीलाई सहरी विकास मन्त्रालयले दबाब दिँदै आएको छ ।

२०७६ साल असोज १६ गते करिब ६ अर्ब ३० करोड लागतमा तीन वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौतासहित सुरु भएको सो भवन निर्माण कार्य कोभिडका कारण केही समय पछि धकेलिएको शहरी विकास मन्त्रालयले जनाएको छ ।

सिंहदरबार परिसरमा सङ्घीय सांसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लक सहितको भव्य भवन निर्माणको काम भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय