यस्ता छन् खीर खानुका फाइदा

भक्तपुर न्यूज

१५ साउन २०८१ ५:५९

यस्ता छन् खीर खानुका फाइदा

काठमाडौं । आज साउन पन्ध्र अर्थात खीर खाने दिन । आजको दिन हरेकको घरमा खीर पाक्छ । असार १५ मा दही चिउरा खाएजस्तै साउन १५ मा खिर खाने चलन छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने मान्यता नेपाली समाजमा चलिआएको छ ।

तीज, श्राद्ध, देवाली, ब्रतबन्ध, भोजभतेर जस्ता शुभ अवसरमा विशेष परिकारका रूपमा पकाइने गरिएको खीरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्दक खानाको रूपमा लिइन्छ । शुद्ध, स्वास्थ्यवर्दक तथा खान सहज भएकै कारण बच्चाको अन्न खुवाई सुरुवात समेत खीर खान लगाएर गरिने प्रचलन छ ।

खीर पौष्टिक तत्वहरु धेरै भएको खाना हो । विभिन्न किसिमका अन्नहरु मिसाएर बनाइएको खीरमा दुध, चिनि, काजु, नलिवल, किसमिस,दालचिनी, लगायतका सामाग्रीहरु राखेर खिर बनाइन्छ ।

खीर खानुको फाइदा :

– साउन महिना झरी पर्ने महिना भएकाले विभिन्न रोगबाट छुटकारा पाउनका लागि पनि दूधबाट बनेको खीर खाने गरिन्छ । रोग प्रतिरोधात्मक क्षमता हुने भएकाले पनि खीर खानु स्वास्थ्यकर छ ।
– दूध र चामल मिश्रित खीरलाई मात्रा अनुसार मिसाइने चिनी, ध्यु, सुख्खा फल आदिले स्वादिलो र पोषिलो बनाउँछ । चामलमा कार्बोहाइड्रेट पाइन्छ भने दूध क्यासियम र प्रोटिनको राम्रो स्रोत हो ।
– चिल्लो ननिकालिएको दूधबाट बनाएको खीरमा पर्याप्त मात्रामा क्यालोरी पाउन सकिन्छ ।
– गाईको दूधबाट बनाएको खीरबाट हामीले भिटामिन ‘ए’ पाउन सक्छौं ।
– खीर बनाउँदा हालिने घ्युले हाम्रो शरीरमा चाहिने फ्याटको मात्रा पूरा गर्छ ।
– खीरमा सुख्खा फल मिसाउँदा भिटामिन, मिनरल (खनिज) जस्ता तत्व पाउन सकिन्छ ।
– खीर नरम खाना भएकाले चिल्लो निकालिएको वा घ्यु नहालेको खीर बिरामीलाई खुवाउन सकिन्छ । बिरामीले खीर नरम हुने भएकाले सजिलै पचाउन सक्छन् ।
– खीर बच्चा, वृद्ध सबैलाई उपयुक्त खानेकुरा हो । तर, दूध र चिनी खान नहुने मान्छेले खीर पनि खानु हुँदैन । ग्यास्ट्रिकका बिरामीले थोरै मात्रामा खान उपयुक्त हुन्छ ।
– पाचन प्रणाली कमजोर भएका बेला चिल्लोरहित दूध र चामलबाट बनेको खीर खुवाउँदा पचाउन सजिलो हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय