भ्रष्टाचारविरोधी अभियन्ताको नाममा ठगी गरेको आरोपमा ४ जना पक्राउ
काठमाडौं । आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता हुँ भन्दै ठगी गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका- ६ बस्ने ३१ वर्षीय राजु सुनार, गोकर्णेश्वर- ८ बस्ने २६ वर्षीय आदर्श क्षेत्री, गोकर्णेश्वर नगरपालिका- १ बस्ने २० वर्षीया अस्मिता खत्री र गोकर्णेश्वर- २ बस्ने ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठ छन् ।
उनीहरूलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिकाबाट सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए । एसपी अधिकारीका अनुसार उनीहरूले गोकर्णेश्वर नगरपालिका भित्र गैरकानूनी रूपमा ‘बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियान २०८०’ नामक संस्था स्थापना गरेर विभिन्न वडामा समेत शाखा विस्तार गरेका थिए ।
त्यही संस्थाको आडमा उनीहरूले विभिन्न सरकारी कार्यालय, स्थानीय तह, विद्यालय, संघसंस्था, कम्पनी, कलकारखाना, विभिन्न टोल सुधार एवं उपभोक्ता समितिमा गएर आफूहरू भ्रष्टाचारविरोधी अभियन्ता हौं भन्दै धम्क्याउने गरेका थिए ।
उनीहरूले भिडियो बनाई रकमसमेत असुली गरेको तथा पुष्टि नै नभएका कुराहरूलाई सामाजिक सञ्जालमा राखेर चरित्र हत्या गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । त्यसपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरी वृत्त बौद्धले थप अनुसन्धान गरिरहेको एसपी अधिकारीले जानकारी दिए ।
प्रकाशित मितिः २०८१ असार ०४ मंगलबार
