वीरको विपन्न केन्द्रबाट औषधि अभाव
काठमाडौं, २ साउन । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत वीर अस्पतालको नागरिक उपचार केन्द्रमा उपचार गराउन जाने बिरामीहरूले केन्द्रबाटै औषधि नपाउने गरेको गुनासो आइरहेको छ । केन्द्रमै पाउनुपर्ने विभिन्न औषधिहरू वीरकै अन्य फार्मेसीहरूमा पाइने गरे पनि विपन्नका बिरामीले औषधि नपाउने गरेका छन् ।
विपन्न शाखाबाहेक वीरकै अन्य फार्मेसीबाट औषधि किन्दा पैसा तिर्न बाध्य भइरहेका छन् । वीरले विपन्न केन्द्रमा उपचार गराइरहेका बिरामीलाई वीरको जुनसुकै फार्मेसीबाट औषधि दिन मिल्ने व्यवस्था वीरले अझै पनि मिलाएको छैन । निःशुल्क सेवामा रहेपछि अस्पतालमा औषधि नहुँदा यदि बिरामीले बाहिरबाट ल्याएको खण्डमा बिरामी र बिरामीको आफन्तलाई औषधिको पैसा दिनुपर्ने हो तर, वीरले यो कामको पनि कुनै व्यवस्था गरेको छैन ।
सेवा लिनेहरूको भीड दैनिक बढेको छ । अस्पतालको विपन्न नागरिक उपचार केन्द्रमा पनि उत्तिकै भीड देखिन्छ । विपन्न केन्द्रबाट मिर्गौला प्रत्यारोपण, हेमोडायलासिस, पेरिटोनियल डायलासिस, मुटु, क्यान्सर, हेड इन्जुरी, स्पाइनल इन्जुरी, डसिकलसेल एनिमिया, अल्जाइमर्सर पार्किन्सस रोगको उपचारको व्यवस्था रहेको अस्पताल नै बताउँछ ।
विपन्न केन्द्रबाट एकजना बिरामी बराबर झन्डै ८ लाख औषधि र उपचार खर्च सरकारले निःशुल्क गरिदिएको छ । ०६६ बाट सुरु भएको विपन्नको सेवा लिनको लागि वार्षिक रूपमा १० प्रतिशतले वृद्धि भइरहेको छ । तर, वीरको विपन्न शाखा भने आफँै विपन्न जस्तो भएको छ ।
सरकारले विपन्न नागरिकको लागि उपचारमा तोकेको सबै सेवा वीरको विपन्नबाट दिन सकेको छैन । विपन्न नागरिक उपचार केन्द्रबाट बिरामीका लागि आवश्यक पर्ने २० प्रकारको औषधिको अभाव रहेको अस्पतालले बताएको छ । जुन औषधिलाई १० देखि २२ हजारसम्म पर्ने गरेको छ । शाखामा प्रर्याप्त मात्रामा औषधि नहुँदा बाहिरबाट महँगो मूल्यमा औषधि किन्नु बिरामीको बाध्यता बनेको विपन्न नागरिक उपचार केन्द्रका एक कर्मचारी मनिराज श्रेष्ठ बताउँछन् ।
यति मात्रै नभई वीर अस्पताको विपन्न शाखामा कर्मचारीको पनि अभाव छ । अहिले उक्त शाखामा २ जना कर्मचारी भए पनि अझै ३ जना कर्मचारीको अभाव रहेको श्रेष्ठ बताउँछन् । विपन्नमा सेवा लिने बिरामीको कागजपत्र मिलाउने, तथ्यांक संकलन गर्ने, औषधि दिने कामको लागि कर्मचारीको अभाव रहेको छ । तर, आवश्यक कर्मचारी व्यवस्थापनमा वीर अस्पताल व्यवस्थापन र प्रशासन उदासीनै रहेको छ ।