कर्णालीको झोलुङ्गे पुलमा फसेका ८ खच्चडको जीवितै उद्धार

भक्तपुर न्यूज

२७ जेठ २०८१ ८:४४

कर्णालीको झोलुङ्गे पुलमा फसेका ८ खच्चडको जीवितै उद्धार

काठमाडौं । कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिएर फसेका १४ वटा खच्चडमध्ये २ वटा मरेका छन् ।

अछाम र दैलेख जिल्ला जोड्ने कर्णालीमाथि झोलुंगे पुलको एकातर्फको लठ्ठा चुँडिदा सामान बोकेर आइरहेका १४ वटा खच्चड फसेका थिए । जसमध्ये एउटा पुलमा फसेकै अवस्थामा मरेको हो । अर्को भने जाली काटेर नदीमा झारेपछि मरेको छ ।

दैलेखको आठबीस नगरपालिका ६ का वडाअध्यक्ष नवराज शर्माका अनुसार पुलमा फसेका १४ मध्ये ८ वटा खच्चडलाई निकालिएको छ । पुलका बाँकी खच्चडलाई तानेर निकाल्ने कोसिस भइरहेको छ । ती खच्चड नदीमा खसाल्दा ढुंगामा पर्ने भएकाले तानेर निकाल्न लागिएको हो ।

पञ्चदेवल नगरपालिका र दैलेखको आठबीस नगरपालिका जोड्ने पुलको एकातर्फको लठ्ठा चुँडिदा खच्चड तारमा अड्किएकाले उद्धार भइरहेको दैलेख प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनिल दाहालले बताए । अहिले पुलबाट केहीलाई नदीमा खसालेर उद्धार गरिएको छ भने केहीलाई लठ्ठाबाट डोरीले तानेर निकालिएको वडाअध्यक्ष शर्माले जानकारी दिए ।

लठ्ठा चुँडिएर पुल लच्किँदा अछाम र दैलेखबीच आवतजावत बन्द भएको छ । अहिले पुलमा अड्किएका अरु खच्चडलाई पनि निकाल्ने कोसिस जारी रहेको शर्माले बताए । त्यसका लागि पुलको जाली काट्ने काम जारी रहेको शर्माले जानकारी दिए ।

प्रकाशित मितिः २०८१ जेठ २७ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय