झोलुङ्गे पुलका लठ्ठा चुँडिदा बिचमै फसे १४ वटा खच्चड
काठमाडौं । कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै फसेका छन्।
आइतबार बिहान करिब १० बजेको समयमा सामग्री बोकेर हिँडिरहेका खच्चड पुलमै अड्किएको खबर आएपछि अहिले उद्धार कार्य अघि बढाइएको दैलेखका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले नेपालखबरलाई जानकारी दिए।
दैलेखको आठबिसबाट अछामको कालेकाडा जोड्ने पुलको एकातर्फको लठ्ठा कमजोर रहेको र धेरै खच्चडहरू एकैपटक चढ्न थाल्दा लठ्ठा चुँडिएको कोइरालाले बताए। अहिले नजिकका इलाका प्रहरी कार्यालयबाट प्रहरीहरू घटनास्थलमा पुग्ने क्रम रहेको कोइरालाले बताए।
‘हामीले अछामका प्रमुख जिल्ला अधिकारीसँग पनि समन्वय गरेर उताबाट पनि सुरक्षा अधिकारीहरूलाई समन्वयका लागि भनेका छौँ,’ उनले भने, ‘अबको केहीबेरमा उद्धार सुरु हुन्छ।’ अहिले ती खच्चडहरू पुलमै अड्किएका छन्।
प्रकाशित मितिः २०८१ जेठ २७ आइतबार
