प्युठानमा तीन दिनदेखि विद्युत अवरुद्ध हुँदा जनजिवन प्रभावित
काठमाडौं । तीन दिनदेखि प्युठानमा विद्युत अवरुद्ध हुँदा जनजिवन प्रभावित भएको छ । लमहीबाट झिम्रुक पावर हाउस आउने १३२ केभी को लाइन दाङको अर्जुनखोलाबाट उत्तर तर्फको भित्री घना जङ्गल चक्लिघाट भन्ने स्थानको भिरमा मुख्य लाइनको एउटा फेज तार जेठ १९ गते राति आएको हावाहुरीका कारण तार चुडिएरपछि विद्युत सेवा अवरुद्ध भएको हो ।
प्युठानका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्याल १३२ केभी को टावरको तार भएको र सो स्थान भौगोलिक रुपमा निकै कठिन रहेकाले मर्मत कार्य गर्न कठिन भएको जानकारी दिए । जसका कारण विद्युत सुचारु गर्न अझै केही समय लाग्ने विद्युत वितरण शाखा प्युठानले जनाएको छ ।
झिम्रुक जलविद्युत केन्द्र र प्युठान वितरण केन्द्रको सयुक्त टोली उक्त लाइन मर्मत कार्यमा खटिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । विद्युत नहुँदा प्युठान जिल्लाभर सूचना, सञ्चारबाट प्रभावित भएको छ । वैकल्पिक उर्जाका रुपमा प्रयोग गरिने सरकारी तथा गैरसरकारी कार्यलयका इन्भटरहरु समेत बन्द हुँदा कामकाज ठप्प भएको छ ।
प्रकाशित मितिः २०८१ जेठ २१ सोमबार