संक्रमणबाट बच्न चिकित्सकको सल्लाह

भक्तपुर न्यूज

३० साउन २०७४ ३:५५

संक्रमणबाट बच्न चिकित्सकको सल्लाह

काठमाडौं, ३० साउन । देशका विभिन्न भाग अहिले बाढीपहिरोको चेपटामा परेका छन् । विशेषगरी तराईका बासिन्दा डुबानमा परेका छन् । उनीहरू सुरक्षित स्थानमा सरेका छन् । यस्तो परिस्थितिमा बाढीपहिरोबाट विस्थापित भएकाहरू सबैसँगै एकै ठाउँमा बस्ने भएकाले खानेकुरा, शुद्ध पिउने पानी र उचित सरसफाइजस्तामा समस्या पर्न सक्ने भएकाले प्रकोपपछि बाढीपीडितहरू थप समस्यामा नपरुन् भनी चिकित्सकहरूले उनीहरूका लागि व्यावहारिक सल्लाह दिएका छन् ।

डा।अनुप बास्तोलाले भने, ‘बाढीका बेला लामखुट्टे, मुुसा र सर्पका कारण पनि जोखिम बढ्ने गर्छ । त्यसैले प्राकृतिक प्रकोपपछि विभिन्न रोगले महामारीकै रूप लिने गरेका विगतका उदाहरण छन् । बाढीपहिरोको प्रकोपपछि खानेपानीका मुहान अवश्य पनि दूषित हुन्छ । शुद्धीकरण तथा निर्मलीकरणका विकल्प पनि कम हुन्छन् । जसले गर्दा पानीजन्य रोग बढ्ने सम्भावना अधिक हुन्छ । अशुद्ध पानीका कारण धेरै फैलिने रोग डायरिया हो । हेपाटाइटिइटिस ‘ए’ र ‘ई’ को जोखिम पनि बढ्न सक्छ । ज्वरो आउने, वान्ता हुने, खान मन नलाग्ने आदि हेपाटाइटिस ‘ए’ र ‘ई’ का लक्षण हुन सक्छन् । यसबाट सावधान रहनु राम्रो हुनेछ ।

डा। बास्तोलाका अनुसार कीटजन्य रोगको जोखिम पनि यस्तै बेला बढी देखिने हुन्छ । बाढीका कारण जताजतै फोहोर पानी जम्ने हुनाले यो समयमा लामखुट्टेको वृद्धि हुन्छ । लामखुट्टेका कारण डेँगु, कालजार, मलेरिया, चिकनगुनियाँजस्ता रोग लाग्छन् । बाढीका कारण मुसाहरू मर्छन् । मुसाहरूमा रहेको एकप्रकारको ब्याक्टेरियाका कारण लेप्टोस्पाइरोसिस भन्ने रोग लाग्छ । मुसा मरेपछि यी ब्याक्टेरिया पानीमा मिसिन्छिन् र घाउ वा अन्य माध्यमबाट मानव शरीरमा प्रवेश गरेपछि यो रोग लाग्छ ।

उनले भने, ‘बाढीपहिरोका कारण सर्पहरू दुलोबाट निस्केर सुरक्षित ठाउँतिर लाग्छन् । सुरक्षित ठाउँ निकै कम हुने भएकाले विस्थापित भएर मानिसहरूले अस्थायी बसोबास गर्ने ठाउँमा सर्पको बिगबिगी हुन सक्छ । जसका कारण सर्पदंशको जोखिम पनि बढ्न सक्छ ।’
डा।बास्तोलाले अशुद्ध पानीकै कारण रोग लाग्ने र फैलिने भएकाले पानी शुद्धीकरण गरेर मात्रै पिउनु जरुरी हुने बताए । उनले भने, ‘शौचालयको उचित व्यवस्था नहुँदा पनि रोग फैलिने डर हुन्छ । त्यसैले सामूहिक बसोबासका बेला पनि शौच गर्ने ठाउँको व्यवस्थापनसँगै गर्नुपर्छ ।’ यसैगरी सर्पबाट जोगिन सर्प हुने सम्भावित ठाउँतिर जानु हुँदैन भन्दै डा।बास्तोलाले भने, ‘आफू बस्ने ठाउँ वरिपरि सरसफाइ गरी बासी, सडेगलेका खानेकुरा सकेसम्म नखाने र नखुवाउने गरेमा राम्रो हुनेछ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *